रुकुम पूर्व– रुकुम पूर्वको भूमे गाउँपालिकामा दोस्रो खुला भूमे कप भलिबल च्याम्पियनसिप तथा नृत्य प्रतियोगिता हुने भएको छ । नयाँ वर्षारम्भ अर्थात् १ देखि ३ वैशाखसम्म गाउँपालिकाको केन्द्र खाबाङमा प्रतियोगिता हुने भएको हो ।
भूमे युवा विकास केन्द्रको आयोजनामा खुला महिला तथा पुरुष भलिबल, नृत्य र गुरिल्ला दौड प्रतियोगिता हुन लागेको हो ।
पुरुष भलिबलतर्फ पहिलो हुने समूहले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेलाई २० हजार रुपैयाँ नगदको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
महिलातर्फको भलिबलमा प्रहिलो आउने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रोले ३०, तेस्रोले १५ र सान्त्वना आउने टिमलाई ८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक भूमे युवा विकास केन्द्रका अध्यक्ष सुनीलकुमार रोका मगरले जानकारी दिए ।
यस्तै, नृत्यतर्फ पहिलोलाई १० हजार, दोस्रोलाई ६ हजार, तेस्रोलाई ३ हजार र सान्त्वनालाई १५०० रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष रोकाले बताए ।
१० किलोमिटरको पूर्वतयारी गुरिल्ला दौडतर्फ महिला÷पुरुष समान पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र १५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
खेलाडीको क्षमता अभिवृद्धिका साथै खेलकुदको प्रवद्र्धन, खेलमार्फत पर्यटन विकास र प्रचार–प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष रोकाले जानकारी दिए ।
पुथाउत्तरगंगा पनि खुला फुटबल प्रतियोगिता
पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० तकमा सर्वाधिक पुरस्कार राशिको खुला फुटबल प्रतियोगिता हुने भएको छ । १ वैशाखदेखि उक्त स्पर्धा हुने भएको हो ।
गाउँपालिका र वैदेशिक रोजगारीमा रहेका युवाहरूको आर्थिक सहयोगमा युवा समूह तकले खेलकुद आयोजना गर्ने भएको हो ।
गाउँपालिकाले प्रथम पुरस्कारको आर्थिक सहयोग गर्ने भएको छ भने बाँकी वैदेशिक रोजगारमा रहेका युवा र अन्य व्यक्तिको आर्थिक सहयोग रहने खेल संयोजक मैत्या घर्ती मगरले बताए ।
पहिलो पुरस्कार नगद ५० हजारसहित कप, मेडल यसैगरी दोस्रो पुरस्कार नगद २५ हजार र तेस्रो पुरस्कार राशि नगद १५ हजार रुपैयाँसहित मेडलले पुरस्कृत गरिने खेल संयोजक घर्तीले जानकारी दिए । खेल सञ्चालनका लागि आर्थिक सहयोग जुटिरहेको आयोजकले जनाएको छ ।