महोत्तरी– कक्षाकोठाभित्र पढाइरहेका शिक्षकलाई अभिभावकले गाली, बेइज्जती गरेको भन्दै महोत्तरीको त्रिभुवन मावि गौशालाका शिक्षकले पठनपाठन बन्द गराएका छन् ।
बिहीबार कक्षा १२ मा अध्ययनरत विद्यार्थी अर्चना सिंह ढिलो आएपछि शिक्षकले गरेको कारबाहीलाई लिएर अभिभावक राजेश सिंह र उनका दाइ उमाकान्त महतोले शिक्षक विनोदकुमार महतोलाई हातपात गरेका थिए ।
हातपातको विरोधमा शिक्षकहरूले विद्यालयको सम्पूर्ण पठनपाठन बन्द गराएका हुन् । गौशाला नगरपालिका वडा नम्बर ९ का वडा सचिवसमेत रहेका उमाकान्त महतोले शिक्षकमाथि गरेको हातपातका कारण विद्यालयमा असुरक्षा भएको बताउँदै शिक्षकहरूले पठनपाठन ठप्प पारेका हुन् ।
विद्यालयमा पठनपाठनका लागि सहज वातावरण बनाउन र पीडित शिक्षक महतोलाई न्याय नदिलाएसम्म कक्षाकोठा वहिष्कार गरिने विद्यालयका प्रधानाध्यापक अमुदकुमार साहले बताए ।