ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ खाम्लुङको दोभान बजारका अग्निपीडितका लागि पाथीभरा याङ्बरक गाउँपालिकाले ५ लाख रुपैयाँ प्रदान गरेको छ ।
पाथीभरा याङ्बरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाको नेतृत्वमा दोभान बजार पुगेको टोलीले मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेबहादुर लिम्बूलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार कार्यपालिकाको बैठकले सहयात्री गाउँपालिकाका अग्निपीडितलाइ सहयोग गर्ने उद्देश्यसहित ५ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय लिएको थियो ।
सोही निर्णयका आधारमा पाथीभरा याङ्बरकले मेरिङ्देनको प्रकोप व्यवस्थापन खातामा जम्मा हुने गरी ५ लाख रुपैयाँ हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए ।
मेरिङ्देनले दोभान बजारका अग्निपीडितका लागि संकलन हुने राहत रकममा एकद्वार प्रणाली अपनाउँदै प्रकोप व्यवस्थापन खातामा रकम जम्मा गर्दै आएको छ । संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेको उपस्थिति पाथीभरा याङ्बरकले मेरिङ्देनलाई सो रकम हस्तान्तरण गरेको हो ।
मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले खातामा प्राप्त रकम पीडित परिवारको क्षतिको आधारमा वितरण गरिने जानकारी दिए । सो प्रकोप व्यवस्थापन खातामा यसअघि फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकाले ५–५ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।
गत १८ फागुनको आगलागिमा परी ५० घर जलेर नष्ट भएका थिए भने करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।