खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले नदी तथा खोलामा विष तथा करेन्ट लगाएर माछा मार्न रोक लगाएको छ ।
पालिका क्षेत्रभित्रको दूधकोसी र रावा खोलामा माछा मार्ने क्रममा विष राख्ने र करेन्ट लगाउन थालिएपछि गाउँपालिकाले यसमा रोक लगाएको हो ।
गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बिहीबार सूचना जारी गर्दै आगामी दिनमा माछा मार्ने क्रममा नदी तथा खोलामा करेन्ट र विष लगाउने गरेको पाइए कानुनबमोजिम कडा कारबाही हुने चेतावनी दिए ।
दूधकोसी र रावा खोलामा करेन्ट र विष लगाएर माछा मार्ने गरेको जानकारीका आधारमा सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
दूधकोसीमा भने स्थानीयले नै विष तथा करेन्ट लगाउने गरेको बताइएको छ । रावा खोलामा अन्यत्रबाट आउने स्थानीयले माछा मार्ने क्रममा करेन्ट तथा विष प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको आग्रहविपरीत नदी तथा खोलामा करेन्ट तथा विष लगाउनेबारे गोप्य सूचना उपलब्ध गराउनेलाई पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । करेन्ट तथा विष लगाउनेको विषयमा प्रहरी कार्यालय वा गाउँपालिकाको कार्यालयमा सूचना दिन सकिनेछ ।
रावा खोला, साप्सु खोला, वुवाँ खोला, टुवा खोला, सावा खोला तथा अन्य साना खोलाखोल्सीमा लुकीछिपी करेन्ट र विष लगाउने गरिएको जनगुनासो छ । नदी तथा खोलाको माछा मार्ने क्रममा विष तथा करेन्ट प्रयोग नगर्न स्थानीय सरकार र स्थानीयले सूचना जारी गर्दासमेत सो क्रम रोकिएको छैन ।
खोटाङका खोलानाला सयौँ प्रजातिका माछा, पाहा, पक्षीलगायत जलचर प्राणीका लागि प्रख्यात छन् । हिमाली चिसो पानीमा पाइने विश्वकै बहुमूल्य प्रजातिको असला माछा जिल्लाका विभिन्न खोलामा प्रशस्त मात्रामा पाइन्छ ।
रावा खोलाको असला माछा नेपालभर नै प्रसिद्ध छ । असला माछाको सुकुटी विभिन्न बजारमा पुग्ने गरेको छ । स्वादिलो र सबैको रोजाइमा पर्ने असला माछालाई जिल्लाकै बलियो आयस्रोतको माध्यम बनाउन तथा पर्यटकीय आकर्षणको रूपमा विकास गर्न सकिने स्थानीय टीकाराम राईले बताए ।
जसपा निकट सुरक्षा दलका उनले १५ फागुनमा दिक्तेलमा पत्रकार सम्मेलन गर्दै माछा मार्ने क्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लास्टिङलगायत गतिविधि नगर्न आग्रह गरेका थिए ।
माछालाई जैविक विविधतामा असर नपुग्ने गरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने गरी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुरक्षा दलको सुझाव थियो ।