काठमाडौं– काठमाडौं महानगरको राजस्व विभागले बजार अनुगमन थालेको छ । आइतबारदेखि विभागका प्रमुख डा. शिवराज अधिकारीको नेतृत्वमा अनुगमन थालिएको हो ।
अनुगमनका क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र थमाइएको छ । व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ ।
अनुगमन टोलीले आइतबार नयाँ सडक क्षेत्रको बजार अनुगमन गरेको थियो भने सोमवार वडा नम्बर २ लाजिम्पाटदेखि पानीपोखरी हुँदै महाराजगञ्जसम्मका मूल सडक किनारामा रहेका पसल अनुगमन गरिएको हो ।
व्यवसाय दर्ता र नवीकरण, बहाल कर, सम्पत्ति करलगायत महानगरलाई तिर्नु/बुझाउनुपर्ने कर तिरे/नतिरेको अनुगमनका क्रममा हेरिएको थियो ।
‘एउटै घरका दुइटा सटरको भाडादर धेरै रकमले तलमाथि देखियो । एउटा सटरको भाडा १० हजार, अर्कोको २० हजार र छिमेकीको ४० हजार रुपैयाँ छ’, राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘भाडा दरमा यति धेरै तलमाथि हुनुलाई हामीले राजस्व असुली र राजस्व प्रशासनका कोणबाट गम्भीरताका साथ हेरेका छौँ ।’
जागरणमूलक र शिक्षामूलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिएर कानुनअनुुसार राजस्व असुली गर्ने अबको योजना रहेको उनले बताए ।
‘व्यवसाय दर्ताको अवस्था ठीकै छ । व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाता संख्या कम छ’, विभागका उपनिर्देशक विकास चित्रकारले भने ।
विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् । प्रतिनिधिमूलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गर्ने तयारी छ ।