धनुषा/सहिदनगर- मुलुककै कान्छा मेयर धनुषाको सहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया (यादव) ले नगरभित्रका विद्यालय अनुगमन सुरु गरेका छन् ।
प्रमुख बरबरियाले आइतबार सहिदनगरका केही सामुदायिक विद्यालयमा पुगेर बालबालिकाको अध्ययन, अध्यापनको स्थितबारे जानकारी लिनुका लागि आफैं शिक्षक बनेर पढाए ।
बरबरियाले सहिदनगरको वडा नम्बर ६ को हडबारास्थित आधारभूत विद्यालयमा बालबालिकाको बौद्धिक ज्ञानबारे जानकारी लिए । शिक्षकको लगनशीलता, पढाउने शैली र बालबालिकाको पढाइप्रतिको चासोबारे अनुगमन गरे ।
समुदायिक विद्यालयको स्तर दिनानुदिन खस्किँदै गए पनि जनप्रतिनिधिले ध्यान नदिएको जनगुनासो बढेपछि निरीक्षण र अनुगमनमा निस्किएको बरबरियाले बताए ।
उनले नगरभित्रका समुदायिक विद्यालयमा बालबालिकाको पहुँच, दलित, अल्पसंख्यक समुदायका बालबालिकाको पहुँचबारे जानकारी लिए । सो अवसरमा शिक्षकको अध्ययन, अध्यापन शैलीबारे विद्यार्र्थीसँग जानकारी लिए ।
विषयगत रूपमा कमजोर देखिएका विद्यार्र्थीको अवस्थाबारे जानकारी लिदँदै सुधार्न उनले निर्देशन दिए । प्रमुख बरबरियाले कहीँ १ साता र कहीँ १५ दिन गरी विभिन्न विद्यालयका शिक्षकलाई सुधारको अल्टिमेटम दिए ।