रूपन्देही- युवतीको बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा रूपन्देहीमा १ जना प्रहरी जवान पक्राउ परेका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ की अन्दाजी १९ वर्षीया युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
घटनामा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नवलपरासीको जर्गामा कार्यरत प्रहरी जवान २२ वर्षीय सुरेश कठारिया (थारु) लाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठोरले शनिबार बिहान करिब ५ बजेतिर तिलोत्तमाको कुमारीमा युवतीलाई बलात्कारपछि हत्या प्रयास गरेका थारु रूपन्देहीकै मंगलापुरबाट पक्राउ परेको जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत चिनजान भएका थारुले युवतीलाई विभिन्न प्रलोभन देखाउँदै पटक-पटक भेट्न दबाब दिँदै आएकामा शनिबार ललाई-फकाई बलात्कारपछि हत्या प्रयास गरेका थिए ।
प्रहरी नायब उपरीक्षक राठोरका अनुसार बलात्कारपछि थारुले झोलाको फिताले घाँटी कसेर नजिकैको खाडलमा फालेर भागेका थिए । युवतीको मृत्यु भन्ठानेर थारु हिँडेको केही समयपछि युवतीको होस खुलेको र गाउँलेको सम्पर्कमा पुगेपछि उनलाई अस्पताल पुर्याइएको थियो ।
घाँटीमा नीलडाम र शरीरका विभिन्न भागमा चोट लागेकी युवतीले आफूलाई बलात्कारपछि हत्या प्रयास भएको बताएपछि घटना सार्वजनिक भएको हो ।
युवतीको बयान र उनको परिवारको किटानी जाहेरीपछि आरोपित थारुलाई पक्राउ गरी बलात्कार तथा हत्या प्रयास उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
रूपन्देहीमा पछिल्लो समय विभिन्न बहानामा महिलामाथि बलात्कार, हत्या, हिंसालगायतका घटना बढ्दै गएका छन् ।