खोटाङ- ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता गरेको छ ।
११ वटा वडा रहेको नगरपालिकाभित्रका विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले एन्फासँग ४ बुँदे सहमति गरेको हो ।
फुटबलको व्यावसायिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ एन्फाको रणनीतिक योजनाअनुसार विद्यालयमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हलेसी तुवाचुङका नगरप्रमुख इवन राईले बताए ।
आर्थिक वर्ष २०७६/७७ देखि प्रशिक्षक नियुक्ति गरेर फुटबल र सितेरियो करातेको प्रशिक्षण सञ्चालन गरिरहेको नगरपालिकाले पुनः विद्यालयमै ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको हो ।
खोटाङ फुटबल एकेडेमी (केएफए) ले आयोजना गरेको जिल्ला अन्तरक्लब पुरुष फुटबल प्रतियोगिता उद्घाटनका लागि खोटाङको एन्फा अध्यक्ष शेर्पासँग नगरपालिकाले ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनको सहमति गरेको हो ।
सहमतिपत्रमा नगरपालिकाले फुटबलको पूर्वाधार विकास तथा निर्माण गर्न बजेट व्यवस्था गरी नगरभित्रका खेल शिक्षक र छात्रछात्रालाई प्रशिक्षणको वातावरण सिर्जना गर्ने, एन्फाले खेलकुद सामग्री र प्राविधिक सहयोग तथा अन्य कार्यक्रमका लागि वातावरण सिर्जना गर्ने उल्लेख छ ।
यस्तै, खोटाङ फुटबल संघले नगरभित्रका विद्यालयसँग समन्वय गरी एन्फाको नीति, नियम, योजनाअनुसार कार्य र अनुगमन तथा निरीक्षण गरी कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्ने तथा ओम शिवशक्ति युवा समूह हलेसीले समन्वय गरी उक्त कार्यक्रम सञ्चालन गर्ने-गराउने सहमति भएको छ ।
सहमपतिपत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नगरप्रमुख राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई र ओम शिवशक्ति युवा समूहका अध्यक्ष नवीन श्रेष्ठले हस्ताक्षर गरे ।