close

क्याम्पसमा पनि पुग्यो एमालेको झगडा

ओली पक्ष अनेरास्ववियुका विद्यार्थीसँग वार्ता गरेको रिसमा माधव पक्ष अनेरास्ववियुले लगायो ताला

क्याम्पसमा पनि पुग्यो एमालेको झगडा

ओली पक्ष अनेरास्ववियुका विद्यार्थीसँग वार्ता गरेको रिसमा माधव पक्ष अनेरास्ववियुले लगायो ताला

Trulli
ADVERTISEMENT

मोरङ- मुलुकको राजनीति उथलपुथलको असर विभिन्न शैक्षिक संस्थाहरूमा पनि देखिन थालेको छ । मोरङको एउटा क्याम्पस यसको उदाहरण बनेको छ ।

 

सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्यापसमा राजनीतिक प्रभावका कारण विद्यार्थी संगठनले तालै लगाइदिएका छन् । नेकपा फुटपछि आ-आफ्नो बाटामा माओवादी र एमाले लागे पनि त्यसको असर क्याम्पसमा देखिएको हो । नेकपा एमालेभित्रको विवादका कारण अनेरास्ववियु विभाजित हुँदा क्यापसमा ताला लागेको हो । 


केही दिनअघि माधव नेपाल निकट विद्यार्थी संगठनले १० बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका थियो । प्रशासनले विद्यार्थी संगठनका माग सम्बोधन गर्न टोली नै गठन गरेको थियो ।

 

त्यसको केही दिनमै प्रधानमन्त्री केपी ओली निकटका विद्यार्थी संगठनहरूले २१ बुँदे मागपत्रसहित क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री ओली निकटका विद्यार्थी संगठनका माग सम्बोधन गर्न प्रशासनले वार्ता गरेको थियो ।

 

ओली निकटका विद्यार्थी संगठन क्याम्पस प्रशासनले वार्ता गरेपछि नेपाल निकटका विद्यार्थीले ताला लगाएका हुन् । दुवै पक्षले आ-आफ्नो संगठन आधिकारिक रहेको भन्दै आन्दोलन गरिरहेका छन् । 

 

आफ्ना मागलाई क्याम्पस प्रशासनले बेवास्ता गरेका कारण ताला लगाइएको नेपाल निकटका विद्यार्थी नेता सन्तोष लिम्बूले बताए ।

 

‘३ जेठ २०७५ पछिको अवस्थामा अदालतले पार्टीलाई फर्काएपछि त्यस समय हाम्रो नेतृत्वमा संगठन रहेको थियो’, लिम्बूले भने अहिले प्रधानमन्त्रीको पार्टी भन्दै अर्कै कमिटी गठन भएको छ ।’ 

 

प्रधानमन्त्री ओली निकटका विद्यार्थी संगठनले भने राष्ट्रिय राजनीतिको प्रभाव परेको बताउँदै आएका छन् । क्याम्पसमा एमालेकै २ वटा विद्यार्थी संगठन रहेका छन् । 

 

नेपाल निकट विद्यार्थीलाई माओवादी निकटका विद्यार्थी संगठनले साथ दिएका छन् । केन्द्रको असर क्याम्पसमा पनि देखिन थालेको ओली निकटका विद्यार्थी नेता मिलन घिमिरे सुनाउँछन् । 

 

ताला लगाइएको विषयमा भने क्याम्पस प्रशासन अनभिज्ञ छ । एमाले केन्द्रको झगडा क्याम्पसमा ल्याउन नहुने सहायक क्याम्पस प्रमुख अर्जुन अधिकारीले बताए । 

 

ताला लगाइएपछि पठनपाठन अवरुद्ध नबने पनि प्रशासनिक काम ठप्प भएको छ । क्याम्पस प्रमुख सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइएको छ ।

 

२०४८ मा स्थपना भएको सुकुना बहुमुखी प्रदेश १ कै राम्रो शैक्षिक संस्थाको रूपमा परिचित रहे पनि आन्दोलन हुँदै गएपछि विद्यार्थीको भविष्यको जिम्मा कसले लिने भन्ने चिन्ता छ ।