close

चिशंखुगढीको गाउँसभा: राज्यमन्त्रीविरुद्ध खेद प्रस्तावदेखि वडा विभाजनसम्म 

चिशंखुगढीको गाउँसभा: राज्यमन्त्रीविरुद्ध खेद प्रस्तावदेखि वडा विभाजनसम्म 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले सार्वजनिक महत्त्वका ३ वटा प्रस्ताव पारित गरेको छ ।

 

आठौँ गाउँसभाबाट चालू आर्थिक वर्षको बजेट संशोधन, गाउँपालिकाका पदाधिकारीविरुद्ध तथ्यहीन आरोप लगाउने राज्यमन्त्रीविरुद्ध खेद प्रस्ताव पारित गर्नेदेखि साविक वडा नम्बर ६ लाई २ वटा वडामा विभाजन गर्नेसम्मको प्रस्ताव पारित गरेको हो । 

 

चालू आर्थिक वर्षमा गाउँपालिकाले १ करोड ६१ लाख ९१ हजार ४ सय ५६ रुपैयाँ बराबरको बजेटसमेत संशोधन गरेको छ । बजेट संशोधनसँगै गाउँपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक, २०७७ पारित गरेको छ ।

 

गाउँपालिकाभित्रका प्राकृतिक स्रोतको संरक्षण तथा सदुपयोग गर्ने व्यवस्था गर्न बनेको सो विधेयक पारित भएपछि प्राकृतिक स्रोत संरक्षणमा काम गर्न सहज हुनेछ । 

 

त्यस्तै, गाउँसभाले प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङले गाउँपालिका अध्यक्ष तथा अन्य पदाधिकारीविरुद्ध तथ्यहीन आरोप लगाउँदै सार्वजनिक कार्यक्रममा पटक-पटक गाली-गलौज गरेको भन्दै खेद प्रस्ताव पारित गरेको छ ।

 

गाउँसभाका सदस्य नरेन्द्र बस्नेत प्रस्तावक तथा उपाध्यक्ष सुस्मिका राई र उषक कटवाल समर्थक रहेको उक्त प्रस्ताव पारित गरेको हो । 

 

राज्यमन्त्री गुरुङले गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधीले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार लगाएर जेल पठाउने चेतावनीयुक्त भाषामा गाली-गलौज गरेका थिए । यस्ता आरोपको पुष्टि गर्न गाउँसभाले चुनौतीसमेत दिएको छ । 

 

वडा विभाजनको प्रस्ताव 


गाउँपालिकाले साविक वडा नम्बर ६ भदौरेलाई २ वटा वडामा विभाजन गर्ने प्रस्ताव पारित गरेको छ । भौगोलिक विकटता, क्षेत्रफल तथा जनसंख्यालाई हेरेर सेवा प्रवाह सहज बनाउने उद्देश्यले २ वडामा विभाजन गर्ने प्रस्ताव गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।

 

उनका अनुसार साविक वडा नम्बर ६ लाई २ वडा बनाएपछि पालिकाका वडा ९ वटा हुनेछन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६ बमोजिम वडा विभाजन तथा वडाको संख्या हेरफेरसम्बन्धी प्रस्ताव पेस भई पारित भएको छ ।