मोरङ– गत १४ पुसमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको शंकास्पद मृत्यु भएको विषयलाई लिएर नेकपा एमाले नेता युवराज बाँस्कोटा पक्राउ परेका छन् ।
परिवारका आफन्तले छोराको हत्या भएको भनी जाहेरी दिएका थिए । जाहेरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
गत १४ पुसमा पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा भण्डारीको मृत्यु भएको थियो ।बाँस्कोटाको घरमा सुतेका भण्डारी बिहान मृतावस्थामा भेटिएका थिए । मृतक परिवारले २६ पुसमा कर्तव्य ज्यान मुद्दामा नेता बाँस्कोटाविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले किटानी जाहेरी दिँदासमेत पक्राउ नगरेको भन्दै स्थानीय आक्रोशित भएपछि मात्रै बाँस्कोटालाई नियन्त्रणमा लिएको थियो । २४ फागुनमा अन्तर्राष्ट्रिय महिला दिवसमा पथरीमा भएको कार्यक्रममा महिलाले बाँस्कोटामाथि आक्रमण गरेका थिए । उनीहरूले बाँस्कोटालाई जुत्तासमेत प्रहार गरेका थिए ।
किटानी जाहेरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी खड्काको भनाइ छ । किटानी जाहेरी परेपछि प्रहरीले जिल्ला अदालत मोरङबाट मंगलबार पक्राउ पुर्जी जारी गराएको थियो ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पथरीबाट पक्राउ गरिएको हो । बाँस्कोटालाई म्याद थपेर अनुसन्धान गरिने भएको छ । बाँस्कोटाको घरमा मृतावस्थामा फेला परेका भण्डारीको शरीरमा नीलडाम र कानमा पनि चोट देखिएको मृतकका आफन्तको दाबी छ । बाँस्कोटा नेकपा विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री केपी ओलीले थप गरेका केन्द्रीय सदस्य हुन् ।
केही दिनअघि मोरङकै उर्लाबारी नगरपालिका वडा नम्बर ५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको शंकास्पद मृत्यु प्रकरणमा स्थानीयले आन्दोलनै गरेका थिए । प्रवीणको हत्या भए पनि घटनालाई कमजोर बनाउन भूमिका खेलेको तथा दोषीलाई उन्मुक्ति दिने गरी मिसिलमा सम्बन्धित व्यक्तिको फोटो राखेर अनुसन्धान गरिएको आरोप प्रहरीमाथि लागेको छ ।
वास्तविकता बुझ्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा ९ फागुनमा ३ सदस्यीय समिति बनाएर छानबिन गरेको थियो । छोराको हत्या भएको दाबीसहित ६ जनाविरुद्ध प्रवीणका बुबा प्रेमप्रसाद भण्डारीले किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो । मृतककी बहिनी सदीक्षाले दाजुको हत्या भएको भन्दै आन्दोलन गरेकी थिइन् । अमेरिकामा रहेकी सदीक्षा दाजुको मृत्युपछि नेपाल आएकी थिइन् ।