रूपन्देही– रूपन्देहीको गैडहवा गाउँपालिको चालू आर्थिक वर्ष २०७७/७८ को हालसम्म २३ प्रतिशत बढी पुँजीगत बजेट खर्च गरेको छ ।पुँजीगत बजेट खर्चमा स्थानीय तहको प्रगति अवस्था निराशाजनक देखिए पनि पुँजीगत खर्चमा गैडहवा गाउँपालिकाले सफलता प्राप्त गरेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बर्खे विकासको रणनीतिलाई पूर्ण रूपमा परिवर्तन गरी बर्खा सुरु नहुँदै सम्पूर्ण काम सक्ने लक्ष्यअनुरूप गाउँपालिकाले विकास निर्माणलाई कार्यान्वयनमा ल्याएको बताए ।
चालू आर्थिक वर्षका लागि कुल ५७ करोड ३० लाख ९ हजार रुपैयाँ विनियोजन भएकामा चालूतर्फ ३३ करोड २३ लाख ८७ हजार रुपैयाँ र २४ करोड ६ लाख २२ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन भएको छ ।
चालू आर्थिक वर्षको वर्तमान समयसम्म १४ करोड ८८ लाख ८४ हजार ८ सय रुपैयाँ कुल खर्चमध्ये ९ करोड ३३ लाख ८१ हजार रुपैयाँ अर्थात् २८ दशमलव शून्य ९ प्रतिशत चालूतर्फ र ५ करोड ५५ लाख ३ हजार रुपैयाँ अर्थात् २३ दशमलव शून्य ७ प्रतिशत पुँजीगत खर्च भएको पालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने, ‘ठूला योजना कार्यान्वयनमा ल्याइसकेका छौँ । साना योजना पनि सञ्चालनमा छन् । कुल ५ सय ३६ योजनामध्ये गाउँपालिका स्तरका १० वटा, केन्द्र सरकारका ३ वटा समपूरक योजना र प्रदेश सरकारका ३ वटा समपूरक योजना छन् ।’
समग्रमा ३० प्रतिशत बढी साना योजना कार्यान्वयनमा आएको उनको दाबी छ । योजना कार्यान्वयनमा ल्याएर सम्पन्न गर्न कुनै समस्या नभएको तर स्रोत अभाव मुख्य चुनौती रहेको उनको भनाइ छ ।