धनकुटा– धनकुटाको महालक्ष्मी नगरपालिकाको छैटौँ नगरसभा र सहिदभूमिको सातौँ गाउँसभा सम्पन्न भएको छ ।
महालक्ष्मीको सभाले कार्यक्रम संशोधन, रकमान्तर, राजस्व र कार्यपालिका बैठकका निर्णय पारित गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि स्वीकृत वार्षिक कार्यक्रममध्ये २५ वटाको ८९ लाख ७७ हजार रुपैयाँ बजेटलाई ९ वटा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट रकमान्तर गरी संशोधन गरिएको छ ।
सभामा नगरप्रमुख पर्शुराम नेपालले कार्यक्रम संशोधन तथा रकमान्तर प्रस्तुत गर्न उप–प्रमुख मञ्जुकुमारी कार्कीलाई अनुमति दिएका थिए । उप–प्रमुख कार्कीले प्रस्तुत गरेको संशोधन तथा रकमान्तर प्रस्ताव नगरसभाले सर्वसम्मत पारित गरेको हो ।
त्यस्तै, नगरपालिकाको अर्थसम्बन्धी विधेयक २०७७/७८ सँग बाझिने नगरका अन्य ऐन बाझिएको हकसम्म बदर हुने निर्णय नगरसभाले पारित गरेको छ ।
महालक्ष्मीको लोगो सार्वजनिक
महालक्ष्मी नगरपालिकाले नगरको आफ्नै लोगो सार्वजनिक गरेको छ । धनकुटाका ७ वटै स्थानीय तहमध्ये महालक्ष्मीले पहिलो पटक आफ्नै लोगो प्रयोगमा ल्याउन लागेको हो ।
छैटौँ नगरसभाले लोगो अनुमोदन तथा सार्वजनिक गर्ने निर्णय पारित गरेको छ । महालक्ष्मीको नक्साभित्र निर्माण गरिएको लोगोमा स्थानीय ठाउँ, उत्पादन र परिवेश झल्कने विषय समावेश गरिएको नगरप्रमुख नेपालले जानकारी दिए ।
‘महालक्ष्मीको आफ्नै लोगो सार्वजनिक गरेका छौँ । अब नगरले यही लोगो प्रयोगमा ल्याउँछ,’ नगरप्रमुख नेपालले भने । चालू आर्थिक वर्षको हालसम्म नगर कार्यपालिकाको ११ वटा बैठकले गरेका १ सय ३८ वटा निर्णय नगरसभाले पारित गरेको छ । नगरसभाको अर्को बैठक आगामी २९ फागुनमा बस्नेछ ।
यस्तै, धनकुटाको सहिदभूमि गाउँपालिका पूर्ण विद्युत् चुहावटमुक्त पाालिका घोषणा भएको छ । गाउँपालिकाको साताँै गाउँसभाबाट विद्युत् चुहावटमुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरेको हो ।
विद्युत् चुहावटमुक्त गाँउपालिका घोषणा गर्न नेपाल विद्युत् प्रधिकरणसँग सहकार्य तथा समन्वय गर्ने निर्णय भएको गाउँपालिका प्रमुख मनोज राईले जानकारी दिए ।
गाउँसभाले जलस्रोत ऐन र संस्था दर्तासम्बन्धी ऐन पारित गरेको छ । यो वर्षको बजेट अनुमोदन गरिनुका साथै गाउँपालिकाको कार्यक्रमतथा योजना संशोधन गर्दै एक पटकलाई फागुन मसान्तसम्म म्याद थएिको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए ।