काठमाडौं– पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरि राखिएको हो ।
गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरि राखिएको हो । जलहरि राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी फर्किएकी छन् । जलहरी राख्ने काम सकिएको र अब ३ दिनसम्म क्षमा पूजा गर्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
जसका लागि १ अर्ब तीन करोड खर्च भएको खतिवडाले जनकारी दिए । खतिवडाका अनुसार सुनमा १ अर्ब, बनाउन १ करोड, पण्डितका लागि लगायतका लागि जम्मा १ अर्ब तीन करोड खर्च भएको हो ।
खतिवडाका अनुसार जलहरी राख्नुअघि पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण भएका छन् भने उनीहरुले दुई दिनयता पूजापाठ गरिरहेका छन् । यस्तै भागवत आश्रम र पशुपतिकै १ सय २१ जना पण्डितहरूले पनि पूजापाठ गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि चाँदीको जलहरि रहेकोमा पशुपति क्षेत्र विकास कोषले सुनको जलहरी राख्न लागेको हो । पशुपतिनाथमा राखिने जलहरिका लागि करिब १ अर्ब रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय गरेको थिए ।
यसैबीच ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका थिए । तर आदेश आउनु अघि नै निर्माण कार्य सक्नेगरी काम भइरहेको स्रोतको भनाइ छ ।