काठमाडौं– काठमाडौं महानगरपालिकाले ताम्राकार आगँछेँको पुनर्निर्माण गर्ने भएको छ । ३३ लाख रुपैयाँ लागतमा सो आगँछेँको पुनर्निर्माण गर्न लागिएको काठमाडाैं महानगरपालिकाले जनाएको छ । मंगलबार काठमाडौं महानगर प्रमुख विद्याशुन्दर शाक्यले आगँछैँको शिल्यान्यास गरे ।
गुठीयारले धानेको परम्परालाई सरकार सहभागी भएर विस्तार गर्न लागेको नगरप्रमुख शाक्यले जानकारी दिए । सम्पदा बचाउन जनस्तरबाट आएका सबै माग महानगरले ग्रहण गरेर मर्मत, सम्भार र पुनर्निर्माणका लगानी गरिरहेको उनले जानकारी दिए ।
‘वडा नम्बर २० मा धेरै सम्पदा छन् । तिनलाई जोगाउने कामलाई वडाले पहिलो प्राथमिकता साथ अघि बढाएको छ’, वडाध्यक्ष राजेन्द्र मानन्धरले भने । ७०५.४ वर्गफिट क्षेत्रफलमा निर्माण हुने आगँछेँ ३ तलाको हुनेछ ।
आगँछेँमा शक्ति (महिला र पुरुष आलिंगन गरिरहेको देवताको मूर्ति) लाई मूल देवताका रूपमा पुज्ने गरिन्छ । यहाँ भगवान् चोक आसपास बस्ने १८ परिवार ताम्राकारले नित्य पूजा र दसैँमा विशेष पूजा गर्छन् ।
यस्तै, परिवारका सदस्यहरूको जन्मदिनमा पनि पूजाआराधना हुने गर्छ । आगँछेँमा कुमारी, गणेशलगायतका देवताको मूर्ति पनि रहनेछन् । भैरवको मूर्तिलाई भने पारंगतले मात्र हेर्न पाउने व्यवस्था छ । यहाँ हुने सबै पूजा गुप्त रूपमा गरिन्छ ।