ताप्लेजुङ– आमाको नाम सुन्नेबित्तिकै जोकोही मातृवात्सल्य, माया–प्रेम र करुणाकी खानीको उपमा दिने गर्छौं । आमाको न्यानो माया पाउनेहरूले धर्ती समानको आदरभाव गर्छन् ।
तर, ताप्लेजुङमा भने अवैध नवजात शिशुलाई जन्माई कर्तव्य गरी मार्ने दुई आमालाई प्रहरीले एकसाथ पक्राउ गरेपछि आमाको रूप कठोर पनि हुन्छ भन्ने देखियो ।
प्रहरीले मेरिङ्देन गाउँपालिका वडा नम्बर २ सान्थाक्राको मैखु र फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमको धोद्रे गुम्बाडाँडा नजिक अन्दाजी ८–९ महिनाजस्ता देखिने २ नवजात शिशुलाई जन्माई कर्तव्य गरी मार्ने दुई आमालाई पक्राउ गरेको हो ।
सान्थाक्राको मैखुमा अवैध नवजात शिशु जन्माई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ पर्नेमा २२ वर्षीया र फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर २ खेजेनिमको धोद्रे गुम्बाडाँडा नजिक पक्राउ पर्नेमा ३७ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध शिशु जन्माई कर्तव्य गरी मारेको अभियोगमा पक्राउ पर्ने महिलाको परिवर्तित नाम मात्र खुलाएको छ । प्रहरीले सार्वजनिक गरेका परिवर्तित नाममा दुवैको थर भने शेर्पा उल्लेख छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवैको अवैध रूपमा गर्भ रहन गई नवजात शिशुलाई जन्माएर मारेको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी बालनरसिंह राणाले निरन्तरको प्रहरी प्रयासपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।
प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा भएको अनुसन्धानको यो घटनाले तत्कालै दोषी पत्ता लगाई पक्राउ गर्न सफल भएको भन्दै डीएसपी राणाले पोखरेल नेतृत्वको टिमलाई धन्यवाद दिएका छन् ।
केही समयअघि प्रहरीको दीर्घकालीन अनुसन्धान तालिमसमेत पूरा प्रहरी निरीक्षक पोखरेल प्रहरीभित्र कुशल अनुसन्धान अधिकृतको रूपमा चिनिएका छन् । ‘म हालै आएको भए पनि पोखरेल अगुवाइको टिमको यो सफल अनुसन्धान र मिसनले प्रहरीको शिर उँचो बनाएको छ’, डीएसपी राणाले भने ।
पोखरेल यसअघि मेरिङ्देन गाउँपालिका वडा नम्बर ५ थुकिमामा आफ्नै भाइद्वारा गरिएको दाजुको हत्या प्रकरणको सफल अनुसन्धान र दोषी पक्राउ गर्ने मिसन पूरा गरेबापत उत्कृष्ट प्रहरी अधिकृतबाटसमेत सम्मानित भइसकेका छन् ।
सामान्यतया नवजात शिशुको कर्तव्य प्रकरणको लामो समय शिशु कसको हो र कसले कर्तव्य गर्यो भन्नेमा उल्झन आउने गर्छ । प्रहरी निरीक्षक पोखरेल अनुसन्धान प्रक्रियाको अनुभव, स्रोत परिचालन, सूचना संकलन र घटनाको तथ्यगत पुष्टिलाई आधार मानेर गरिएको सूक्ष्म अनुसन्धानबाट घटनाका दोषी तत्कालै कानुनी दायरामा आउन सफल भएको बताउँछन् ।