सिन्धुपाल्चोक- मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण गरिएको छ । खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार आयोजनास्थलमै पानी भरेर परीक्षण गरिएको हो ।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेपछि परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
समितिका प्रवक्ता राजेन्द्र पन्तका अनुसार खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको हो ।
यसअघि गत असारमा पानी हालेर सुरुङको परीक्षण गरिएको थियो । असारमा हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर फर्किएको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यतिबेला फुटेको गेट नम्बर १७ को मर्मत सकिएपछि पुनः परीक्षणका लागि पानी हालिएको हो ।
आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत ४ जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । विशेषज्ञको सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि सुरुङ तयार भएको हो ।
परीक्षणका क्रममा हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको थियो । त्रुटिका कारण पहिलाजस्तो सम्भावित दुर्घटनाको हुन सक्ने सतर्कता अपनाई सुरुङमा पानी हालिएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।