उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले अदालतबाट सजाय पाएका विभिन्न अपराधमा संलग्न भई दोषी ठहरिकालाई धमाधम पक्राउ गरी फैसला कार्यान्वयमा सघाएको छ । अदालतबाट दोषी ठहर भई सजाय पाएका फरार व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन ।
अदालती फैसला कार्यान्वयन गरी बिगो र कैद भुक्तान गराउने केही वर्षअघिको सरकारी निर्देशनअनुसार खोजतलास गर्ने क्रममा फरार पक्रिन थालेका हुन् ।
सरकारी निर्देशन कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयले पछिल्लो डेढ वर्षमा ७६ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए ।
उनका अनुसार गत आर्थिक वर्ष २०७६/७७ देखि चालू वर्ष २०७७/७८ पुससम्म पक्राउ परेका उनीहरूलाई अदालतले बिगो रकम असुलउपर गरी कैद सजाय भुक्तान गराइरहेको छ ।
जिल्ला प्रहरीको अभिलेखअनुसार २०७६/७७ भित्र विभिन्न अभियोगमा अदालतबाट कैद र जरिमाना सजाय पाए पनि फरार रहेका ५९ जना पक्राउ परेका छन् । उनीहरूमाथि अदालतले तोकेको २५ वर्ष ४ महिना ७ दिन कैद र २ लाख ९१ हजार ९ सय ६० रुपैयाँ ४९ पैसा जरिमाना भुक्तानी भएको डीएसपी गौतमले जानकारी दिए ।
‘चालू आर्थिक वर्ष साउनदेखि पुससम्म पक्राउ १७ जना फरार अभियुक्तबाट २९ वर्ष ६ महिना १ दिन कैद सजायसँगै ३ लाख ८२ हजार ६ सय ७२ रुपैयाँ बक्यौता जरिमाना भुक्तान भएको छ,’ उनले भने ।
प्रहरी तथ्यांकअनुसार सबभन्दा बढी अपराधमा फरार वन मुद्दाका पाइएको छ । आव २०७६÷७७ मा मात्र वन मुद्दाका २५ फरार अभियुक्त पक्राउ परेका छन् भने चालू वर्ष एक फरार नियन्त्रणमा परेका छन् ।
लागूऔषध अपराधमा संलग्न ७ जना फरार पक्राउ परेका छन् भने जबर्जस्ती करणीमा ६ र जुवा अभियोगमा ६ जना अभियुक्त पक्राउ परेका छन् ।
चोरीका ५ र ज्यान मार्ने अभियोगमा ४ जना पक्राउ पर्दा बाँकी फरार अभियुक्त केही सार्वजनिक अपराध, जालसाजी, ठगी, सार्वजनिक अपराध, कुटपिटलगायत मुद्दाका पक्राउ परेको प्रहरी तथ्यांकले देखाएको छ ।
प्रहरीले वर्षौं अघि विभिन्न अपराधमा संलग्न भएर अदालतबाट बिगो जरिमाना र कैद सजायको फैसला भए पनि सम्पर्कमा नआइ फरार रहेका अभियुक्तलाई लुकिबसेको अवस्थामा पक्राउ गर्दै आएको छ । फरार एकाधबाहेक प्रायः घरमै लुकेर बसेको अवस्थामा सुराकीका आधारमा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी भीम दाहालका अनुसार विगत तीन दशकअघिका फरार अभियुक्त समेत पक्राउ पर्दै आएका छन् । १८ भदौ २०४८ मा जिल्ला अदालतले दोषी करार गरेका अभियुक्तसम्म भर्खर पक्राउ परेको एसपी दाहालले बताए ।
केही वर्षअघि गृह र कानुन मन्त्रालयको समन्वयमा फरार अभियुक्तको संख्या धेरै रहेको भन्दै उनीहरूबाट करोडौँ रुपैयाँ जरिमाना रकम र हजारौँ वर्ष कैद सजाय बक्यौता देखिएकाले पक्राउ गरी असुलउपर गर्ने निर्णय भएको थियो ।
सर्वोच्च अदालतले फरारको सूची तयार गरी प्रहरीलाई उपलब्ध गराई पक्राउ अभियान थाल्न निर्देशन दिएअनुसार प्रहरी परिचालन भएर फरारको व्यापक खोजी गर्दै पक्राउ गर्ने गरेको हो । पक्राउ परेलगत्तै प्रहरीले अभियुक्तलाई कैद र बिगो असुलउपर गर्न गराउन अदालतमा बुझाउने गरेको एसपी दाहालले जानकारी दिए ।
कानुन र गृहको समन्वय र सर्वोच्च अदालतको आदेशअनुसार उदयपुर अदालतले फरार अभियुक्तको पुरानो फाइल खोलेर अभियुक्तको सम्पूर्ण विवरण प्रहरीलाई उपलब्ध गराउँदै खोजी र पक्राउ गरी बुझाउन पत्राचार गरेको थियो ।
पुरानो फाइल पाएको प्रहरीले फरार अभियुक्तको खोजी गर्ने क्रम तीव्र पारेपछि पक्राउ पर्ने तथा बक्यौता बिगो र कैद भुक्तानी भइरहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।
उनका अनुसार सुरु वर्ष खासै उत्साहजनक नभए पनि दोस्रो वर्षदेखि प्रहरीले भकाभक फरार पक्राउ गर्दै अदालतमा बुझाउँदै आएको छ ।