देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर
१) रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्षविजय कुशवाहा पक्राउ, पशु तस्करलाई सघाएर सशस्त्रको बीओपीमाथि आक्रमण गराउन भूमिका खेलेको आरोप ।
२) पर्यटन मन्त्रालयले छान्यो २ सय स्थानीय तहमा पर्यटकीय गन्तव्य पूर्वाधार योजना । लागत साझेदारीमा ३ वर्षभित्र पूरा हुने गरी पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने ।
३) जुम्लाको चन्दननाथ नगरपालिका सबै वडा तहमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन सफल, चालू आर्थिक वर्षमा ५ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन ।
४) बझाङको जयपृथ्वी नगरपालिकाले झोलुंगे पुल नहटाउँदा मोटरेबल पुल निर्माणमा समस्या, भएको काठे पुल पनि नदीले बगाएपछि यातायात सेवा प्रभावित ।
५) बागलुङको जैमिनी नगरपालिकाको आठौँ नगरसभामा चार वटा विधेयक दर्ता, नगरसभाको पहिलो बैठकबाट २ वटा ऐन र एउटा निर्देशिका पारित ।
६) खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काभ्रेको पनौती नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना, दुवै नगरभित्र रहेका आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि आदान-प्रदान हुने अपेक्षा ।
७) सुनसरीको इटहरी उपमहानगर १० को स्वास्थ्य इकाइ भवन शिलान्यास, इटहरीका सबै वडामा स्वास्थ्य संस्था पुर्याउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाइ निर्माण गरिने ।
८) आधारभूत अस्पतालको डीपीआर तयार पार्दै खोटाङको ऐँसेलुखर्क गाउँपालिका, १७ लाख २१ हजार रुपैयाँमा डीपीआर तयार पार्न फागुन ९ भित्रको समयमा प्रस्ताव पेस गर्न गाउँपालिकाको सूचना ।
९) मिथिला फाउन्डेसनको आयोजनामा फागुन १९ देखि २२ गतेसम्म जनकपुरमा साहित्य महोत्सव हुने, ४ दिनसम्म चल्ने महोत्सवमा साहित्य, लेखन, सिनेमा, संगीत, राजनीतिलगायत विषयमा मन्थन हुने ।
१०) समूहमा गाई पालन गर्ने कृषकलाई बाग्लुङको जैमिनी नगरपालिकाको साथ, ५० रोपनी जमिन, २५ जनाको समूह र २५ वटा गाई खरिद गर्ने समूहलाई नगरपालिकाको १८ लाख रुपैयाँसम्मको अनुदान ।
११) हुम्लाको सर्केगाड गाउँपालिका-२ मा रहेको रिप स्वास्थ्य चौकी १ महिनादेखि स्वास्थ्यकर्मीविहीन, स्वास्थ्यकर्मी नहुँदा पालिकाका २ वडाका हजारौँ स्थानीय समस्यामा ।