ताप्लेजुङ– सरकारले देशभरका ३० वटा अन्तरदेशीय नाकामार्फत स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न दिनेसहितका प्रावधान राखेर नेपाल आगमन हुने यात्रुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टाइनसम्वन्धी मापदण्ड, २०७७ जारी गरेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण देखापरेको अवस्थामा जारी मापदण्डअनुसार सीमा नाकामा रहेको हेल्थ डेस्कबाट प्रवेश अनुमति पाउने यात्रुलाई पनि अब स्थानीय तहले कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।
११ माघमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको सो मापदण्डको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोधार्थ तथा कार्यार्थका लागि विभिन्न निकायमा पठाएको हो । मुख्यसचिव शंकरदास बैरागीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, परराष्ट्र, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र पठाएका छन् ।
कार्यविधिअनुसार स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिले अब इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र खजुरगाछी, मोरङको रानी, सुनसरीको भन्टाबारी, सप्तरीको कुनौली, सिराहाको माडर, धनुषाको जटही र इनरुवा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र बंकुल, बाराको मटिअर्वा र सिम्रौनगढ, पर्साको वीरगञ्ज र नवलपरासी बर्दघाट सुस्ता पूर्वको त्रिवेणी नाकामार्फत मात्र स्थलमार्ग हुँदै नेपाल प्रवशे गर्न पाइनेछ ।
यस्तै, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको महेशपुर, रूपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, दाङको कोइलावास, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर गुलरिया, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको दार्चुला, रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मात्र स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पाइने कार्यविधि बनेको छ ।
कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण देखापरेका स्थानमा रही स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिक र नेपालसँग सीमा जोडिएका मित्रराष्ट्रका नागरिकले नेपाल आवागमनका लागि यात्रा सुरु गर्नुअघि स्वाब संकलन भएको समयबाट ७२ घन्टाभित्रको कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट सीमानाकामा रहेको स्वास्थ्य डेस्कमा बुझाउनुपर्नेछ ।
सीमानाकामा रहेको स्वास्थ्य डेस्कले आवश्यक स्वास्थ्य परीक्षण गरेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले लक्षण देखिएका व्यक्तिलाई आइसोलेसन केन्द्र वा अस्पतालमा प्रेषण गर्ने र अन्य यात्रुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी १० दिनसम्म अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।