ताप्लेजुङ- देशभरका १ सय ४० स्थानीय तहले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट लागत साझेदारीमा निर्माण हुने पालिका स्तरको खेलकुद पूर्वाधारका लागि रकम पाउने भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले बढीमा ३० लाख र कम्तीमा २० लाख रुपैयाँका दरले चालू आर्थिक वर्षका लागि वित्तीय हस्तान्तरणमार्फत खेल पूर्वाधार निर्माण र स्तरोन्न गर्न पालिकाहरू छनोट गरेको हो ।
३० लाख रुपैयाँ रकम अनुदान पाउनेमा ६४ स्थानीय तह छन् । २५ लाख रुपैयाँ पाउनेमा ५९ र २० लाख रुपैयाँ पाउनेमा १७ स्थानीय तह रहेका छन् ।
मन्त्रालयले ७० प्रतिशत संघीय सरकारको र ३० प्रतिशत स्थानीय तहको लागत साझेदारीमा खेलकुद पूर्वाधार निर्माण गर्ने स्थानीय तह छनोट गरेको हो ।