डडेल्धुरा- नेपाल-भारत सीमा क्षेत्र नजिकै भारतीय पक्षले बाटो बनाउने क्रममा पहिरो खसेपछि महाकाली नदी थुनिएको छ । भारतीय पक्षले बाटो बनाइरहेको क्षेत्रमा पहिरो खसेर महाकाली नदी थुनिएको हो ।
अहिले भारतीय पक्षले पहिरो पन्छाउने काम गरिरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । दार्चुलाको माल्पा पहिरोका कारण महाकाली नदी थुनिएपछि कञ्चनपुर प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्थानीय प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गरेर पहिरोका कारण थुनिएको महाकाली नदीको पानी जुनसुकै बेलामा पनि फुट्न सक्ने भएका कारण महाकालीको तटीय क्षेत्रमा बसोबास गर्ने कञ्चनपुरका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासकीय अधिकृत कृष्णानन्द जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘दार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिन गएकाले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकाले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।’