निजगढ- बाराको निजगढ नगरपालिकाले नगरभित्रका अतिअशक्त र अपांग नागरिकलाई जाडोबाट बच्न ब्ल्यांकेट र थर्मस वितरण गरेको छ ।
निजगढका मेयर सुरेशकुमार खनालको नेतृत्वमा सोमबारदेखि नगरका अति अशक्त र अपांग नागरिकको घरघरमै पुगेर ती सामाग्री वितरण गरिएको नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रोजी श्रेष्ठले बताइन् ।
अशक्त तथा अपांग नागरिकलाई जाडोबाट सुरक्षित राख्ने उद्देश्यले नगरपालिकाले ब्ल्यांकेट र थर्मस वितरण गरेको मेयर सुरेशकुमार खनालले जानकारी दिए ।
मेयर खनालले यसअघि नगरका ज्येष्ठ नागरिकलाई यस्ता सामग्री वितरण गरिएको र अशक्त र अपांगता भएका नागरिकको सहजताका लागि घरदैलो गरिएको बताए ।
नगरपालिकाले नगरभित्रका १ सय ९८ जना पूर्ण अपांग र अशक्तलाई ती सामग्री वितरण गर्ने योजना बनाएको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख श्रेष्ठको भनाइ छ ।
नगरपालिकाले वडा नम्बर १ भरतगञ्ज सिंगौलबाट सहयोग सामग्री वितरण सुरु गरेको हो । लाभान्वितहरूले नगरपालिकाले घरघरमै आएर सेवा दिएको भन्दै खुसी व्यक्त गरे ।
अपांग तथा अशक्तलाई थर्मस र ब्ल्यांकेट वितरण गर्न मेयर खनालसहित उपप्रमुख लीलादेवी लामिछाने खनाल, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की, वडा नम्बर १ का वडाध्यक्ष मंगल लोप्चन, निजगढ नगरपालिकाका सूचना अधिकृत रविनघिमिरेलगायत स्थानीय जनप्रतिनिधि घरघर पुगेका थिए ।