सुर्खेत- सुर्खेतको लेकबेंसी नगरपालिका वडा नम्बर ८ मा अवैध क्रसर सञ्चालनका लागि वडा अध्यक्षले नै जग्गा भाडामा दिएका छन् । नगरपालिकाको वडा नम्बर ८ चिसापानीमा रहेको लामा राजेन्द्र श्याम एन्ड शंकर नामक क्रसर सञ्चालन गर्न वडा नम्वर ८ का वडा अध्यक्ष लालबहादुर टंलामीले आफ्नो ३ रोपनी जग्गा भाडामा दिएको खुलेको हो ।
अरू केही व्यक्ति मिलेर करिब २ बिघा जग्गा क्रसर सञ्चालन गर्न भाडामा दिइएको वडा अध्यक्ष टंलामीले बताए । २०७५ सालमा क्रसर सञ्चालन गर्न वडा अध्यक्षसहितको समूहले जग्गा भाडामा दिएको हो ।
अहिले गंगटे, आरनटुडा, ढाडखेत सडक निर्माणका लागि क्रसर स्थापना गरिए पनि नदीजन्य पदार्थको अवैध दोहनमा स्थानीय सरकारले साथ दिँदा राजस्व छली हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालयले भने अवैध रूपमा सञ्चालन भइरहेका क्रसर बन्द गर्न नगरपालिकालाई पत्राचार गरिसकिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
उनले भने, ‘अवैध क्रसर बन्द गराउन पत्राचार गरिसकेका छौँ । जिल्ला प्रशासनको भन्दा धेरै जिम्मेवारी र अधिकार नगरपालिकाकै हुन्छ । पुनः अनुगमन गर्छौं र कारबाहीका लागि सिफारिस गर्छौं ।’
लेकबेंसीमा सञ्चालित सबै क्रसर अवैध रहेको नगरप्रमुख गगनसिं सुनारले दाबी गरे । ‘नगरपालिकाले पनि त्यस्ता उद्योग बन्द गराउन निर्देशन दिइसकेको छ’, उनले भने ।