कास्की- तनहुँको भानु नगर क्षेत्रमा भूकम्प पुनर्निर्माणका लागि खटिएका सबइन्जिनियर घुससहित पक्राउ परेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइको शिक्षाअन्तर्गत कार्यरत सबइन्जिनियर सुरेन्द्र अधिकारी डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाई दिएबापत उनले घुस मागेका थिए । घुस रकम बुझिसकेको अवस्थामा अख्तियारबाट खटिएको टोलीले उनलाई रकमसहित रंगेहात समातेको हो ।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग कास्कीका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।