म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकामा १० शय्या क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामै पुगेको छ । अस्पताल बनाउने स्थान टुंग्याउने, बजेट संशोधन, बेरुजु फर्छ्याेट, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधिको बिषयमा छलफलका लागि गाउँपालिका केन्द्र मौवाफाँटमा बिहीबारदेखि नवाैँ गाउँसभा सुरु भएको छ ।
कार्यपालिकाको छलफलमा अस्पताल बनाउने स्थान विवाद समाधान हुन नसकेपछि बोलाइएको नवाैँ गाउँसभालाई स्थानीय र जिल्ला स्तरमा महत्त्वका साथ हेरिएको छ ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन गाउँसभामा लगिएको बताए । मतदानबाट अस्पताल विवाद टुंगो लगाउने गाउँपालिकाको तयारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगंगा वडा नम्बर- १ बेगलाई छनोट गरेको थियो ।
२० कात्तिक २०७७ को कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा १० शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।
गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले अमूर्त शब्द राखेर निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्लेलाई राखेको थियो ।
ठाउँ विवादका कारण १५ मंसिरमा तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेन । चालू आर्थिक वर्षमा ८३ लाख रुपैयाँ विनियोजन भएको अस्पतालको भवन निर्माण गर्ने योजना अन्योलमा परेको छ ।
अस्पताल बनाउन बेगका बासिन्दाले नौ रोपनी जग्गा व्यवस्थापन गरेका वडा अध्यक्ष बिलप्रसाद फगामीले बताए । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको गाउँपालिकाले जनाएको छ ।
विवाद बढेपछि मौवाफाँटमा २५ शय्याको अस्पताल बनाउने र बेगलाई तोकेर आएको अस्पताल सोही स्थानमै बनाउने विषयको छलफलमा पिप्लेका जनप्रतिनिधि र अगुवाले आपत्ति जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकी भवन पुनर्निर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ ।
ठेक्का लागिसकेको भवन वडा नम्बर- ७ चिमखोला अथवा झीँमध्ये कुनै एक ठाउँ लैजान बेगवासीले प्रस्ताव गरेका छन् । बेगमा अस्पताल बने छिमेकी भगवतीका केही बस्तीबाहेक अन्य वडाका बासिन्दालाई सेवा लिन अपायक पर्ने देखिन्छ ।
सबैलाई पायक पर्ने हिसाबले अस्पताल बनाउन ठाउँ छनोट नगरिएको, गाउँपालिकाको पछिल्लो निर्णयको विषयमा भेगिए राजनीति र आरोप/प्रत्यारोपले विवाद चुलिएको छ । अस्पताल बनाउने ठाउँको टुंगो लाग्छ अथवा विवाद बढाउँछ भन्ने विषय गाउँसभामा जनप्रतिनिधिबीचको छलफल र निर्णयमा निर्भर हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अस्पताल बनाउने ठाउँ छनोटका साथै गाउँसभामा योजना कार्यान्वयनको समीक्षा, योजनाको बजेट रकमान्तर र शीर्षकान्तर, बेरुजु फर्छ्योटको विषयमा पनि छलफल हुने जानकारी दिए । रघुगंगामा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को एक करोड २८ लाख रुपैयाँ बेरुजु छ ।
पहिलो दिनको गाउँसभामा गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, सात जना वडा अध्यक्ष र दुई जना गाउँसभा सदस्यहरूले अस्पताल बनाउने ठाउँको विषयमा आफ्नो धारणा राखेका थिए ।
उपाध्यक्ष तिलिजा, भगवतीका वडा अध्यक्ष रिम कटुवाल र दग्नामका वडा अध्यक्ष रुकबहादुर गर्बुजा सुरुमा गलत बुझाइका कारण सही निर्णय गर्न नसक्दा र सबैलाई पायक पर्ने ठाउँ छनोट नगरिएकाले अहिले कार्यान्वयनमा विवाद देखिएको बताउँछन् ।
बेगका वडा अध्यक्ष बिलप्रसाद फगामी र वडा सदस्य तिलक तिलिजाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनोट गरेकाले बेगमै अस्पताल बन्नुपर्ने माग गरे । चिमखोलाका वडा अध्यक्ष देउप्रसाद पुन र कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बेगमा अस्पताल बनाउन समर्थन गरे ।
झीँका वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, वडा सदस्य कृष्ण पुन र पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले गाउँसभाको स्थायी केन्द्र कायम गर्ने क्रममा आफूहरूलाई झुक्काइएको, त्यसबेला गरिएका प्रतिबद्धता कार्यान्वयनमा बेवास्ता भएको र अहिले पनि अस्पताल बनाउने ठाउँको विवाद निकालेर जनता लडाउन खोजिएको टिप्पणी गरे ।
वडा अध्यक्ष जीवनकुमार मल्ललगायत पिप्लेका जनप्रतिनिधिले भने गाउँसभाको बहिष्कार गरेका छन् । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउने निर्णयलाई तोडमोड गरेर पालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउन खोजिएकाले विरोधमा गाउँसभा बहिष्कार गरेको वडा अध्यक्ष मल्लले बताए ।
एउटै वडा भए पनि पिप्लेकै स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्नुपर्ने अडान राखेका पिप्लेवासीले मौवाफाँटमा अस्पताल बनाउने निर्णय नमान्ने भन्दै गाउँसभाअघि गाउँपालिका अध्यक्ष भण्डारीलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।