बाजुरा– साँफे–मार्तडी सडक खण्डको बाजुराको डाबबजारदेखि मार्तडी खण्डमा उखु र केरा खेती सुरु गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले अनुदान दिएपछि गत वर्षबाटै खेती सुरु भएको छ ।
सडक किनारको खाली रहेको वाँझो जमिनको सदुपयोग हुने र जिविकोपार्जनमा सघाउ पुग्ने भएकाले राजमार्गको छेउछाउमा केरा र उखु खेती सुरु गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले वताए ।
नगदे वाली सजिलै बिक्री हुने भएकाले सडक आसपासका कोक्षेत्रमा खेतीका लागि अनुदान दिइएकोे कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द सिजापतिको भनाइ छ । पहिलो चरणमा साँफे–मार्तडी सडक करिडोर र विस्तारै अन्य शाखा सडकमा समेत विस्तार गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
सडकको छेउमा सुरु गरिएको केरा र उखु खेतीले फाँट हराभरा भएसँगै आर्थिक उपार्जनमा निकै सघाउ पुगेको स्थानीय लालबिर नाथ बताउँछन् । अहिले केरा उत्पादन सुरु भइसकेको छ ।
कृषि ज्ञान केन्द्र बाजुराले आर्थिक वर्ष २०७६/०७७ मा साँफे– मार्तडी सडक करिडोरका ९ सय ५० जना कृषक परिवारलाई ६ सय ५० क्विन्टल उखुको बिउ वितरण गरेको हो । आर्थिक वर्ष २०७७/०७८ मा सडकको ५०० मिटर दायाँ र वायाँ क्षेत्रमा स्थानीय केरा रोप्ने कृषकलाई प्रतिवोट रु २० का दरले अनुदान उपलव्ध गराउने योजना छ ।
सामाजिक तथा आर्थिकरुपमा पछिपरेका कारण बाजुरा जहिले पनि गरिवि र अभावको जिल्ला भनेर चिनिने गरेको पुरानो पहिचानलाई बदल्न साना आयआर्जनका कार्यक्रम संचालन गरिएको ज्ञान केन्द्रको दावी छ ।
सधै पानीकै कहर
सदरमुकाम मार्तडी नजिकैको बडिमालिका नगरपालिका–९ को एउटा बस्ती वर्षौंदेखि खानेपानीको समस्यामा छ ।
वडाको गडखेतका ५० परिवार स्थानीय बाउली खोलाको पानी खान बाध्य छन् । स्थानीयले नजिकै रहेको बाउली खोलामा रहेको दूषित पानी प्रयोग गर्दै आएका छन् ।
बस्तीले पुस्तौदेखि खानेपानीको समस्या झेल्दै आएपनि स्थानीय सरकारले नसुनेको स्थानीय निशान्त बडुवालको दुखेसो छ । बस्तीका ५० घर परिवारले पुर्खैँदेखी उपभोग गर्दै आएको खानेपानीको मुहान अहिले सुकिसकेको छ ।
गाउँमा पशु चौपाँया र मानिसले एउटै खोलाको पानी खानुपर्ने बाध्यता छ । गाउँमा हरेक वर्ष झाडापखाला लगायतका पानीजन्य रोग लाग्ने र औषधि उपचारसमेत नपाइने समस्यामा रहेको स्थानीय अंगत बडुवालले बताए । सुख्खायाममा बाजुराका हरेक बस्तीमा खानेपानीको समस्या हुने गरेको छ ।