close

सिरिजङ्घाको योजना ‘एक वडा एक प्राविधिक’

सिरिजङ्घाको योजना ‘एक वडा एक प्राविधिक’

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- गाउँबाटै प्राविधिक जनशक्ति उत्पादन गर्ने र गाउँमै रोजगार बनाउने उद्देश्यले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिकाभित्रका आठवटै वडाका एक-एक जना जेहनदार विद्यार्थीलाई प्राविधिक विषय पढाउन सम्झौता गरेको छ ।


गाउँपालिकाले ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ कार्यक्रमअन्तर्गत गाउँपालिकाका प्रत्येक वडाबाट सामुदायिक विद्यालयमार्फत माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने एक-एक जनालाई कृषि र पशु विज्ञान विधामा अध्ययन गर्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो । 

 

अध्ययन खर्चबाहेक गाउँपालिकाले आवास तथा खानाबापत प्रतिविद्यार्थी मासिक सात हजार ५०० र पोसाक तथा स्टेसनरीबापत वार्षिक १०-१० हजार रुपैयाँसमेत उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार छनोट भएका विद्यार्थीको क्याम्पसमा लाग्ने भर्ना शुल्क, परीक्षा शुल्कलगायतका सबै शुल्क तथा दस्तुरसमेत गाउँपालिकाले व्यहोर्ने भएको छ । 


अध्ययन गर्न जानुअघि गाउँपालिकाले विद्यार्थीसँग सम्झौता तथा कवुलियतनामा गरेको छ । तीन वर्षे प्राविधिक अध्ययन समाप्त भएपश्चात ती विद्यार्थीले आआफ्ना वडामा कम्तीमा एक वर्ष  कृषि र पशु सेवा उपलब्ध गराउनुपर्ने गरी सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । 


सिरिजङ्घा गाउँपालिकाले चालू आर्थिक वर्षका लागि प्रस्तुत भएको नीति, कार्यक्रम र बजेटकै बेला गाउँसभाबाट यो तहको छात्रवृत्ति वितरणसम्बन्धी निर्देशिकासमेत पारित गरी कार्यान्वयनमा ल्याएको हो । यस्तो छात्रवृत्ति पाउनेमध्ये वडा नं.- १ सिनामका शर्मिला लिम्बू, वडा नं.- ३ सिकैचाका सुमना लक्सम्बा, वडा नं.- ५ पेदाङका प्रतिमा लिम्बू र वडा नं.- ७ खेवाङका रोमन दाहाल कृषि विज्ञानमा (आईएस्सीएजी) अध्ययन गर्न सिरिजङ्घाको सिनामस्थित सिनाम क्याम्पस भर्ना भएका छन् । 


उता, वडा नं.- २ आम्बेगुदिनकी मीना भट्टराई, वडा नं.- ४ तेल्लोकका मुकेश मावो, वडा नं.- ६ मामाङ्खेका लाजेहाङ लिम्बू र वडा नं.- ८ याम्फुदिनका टाजसाङ राई पशु विज्ञान अध्ययन गर्न रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युट साखेजुङ इलाममा भर्ना भएका छन् । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार तीन वर्षभित्र गाउँपालिकाले प्रत्येक विद्यार्थीका लागि दुई लाख ७४ हजार ४०० रुपैयाँ खर्च गर्ने भएको छ । क्याम्पसमा लाग्ने भर्ना शुल्क, परीक्षा शुल्कलगायतका सबै शुल्क तथा दस्तुर मात्र गाउँपालिकाले प्रत्येक विद्यार्थीका लागि प्रत्येक वर्ष ६८ हजार ६०० रुपैयाँका दरले खर्च गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।