काठमाडौं - नेपाल नगरपालिका संघको सातौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ । कोभिडका कारण भर्चुअल माध्यमबाटै अधिवेशन सञ्चालन गरिएको थियो ।
अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि संघीय अर्थमन्त्री विष्णु पौडेल र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलको पनि भर्चुवल माध्यमबाटै सहभागिता थियो ।
उद्घाटन सत्रमा नेपाल नगरपालिका संघका महासचीव भीमप्रसाद ढुंगानाले स्थानीय सरकारका अधिकारहरू यसरी नै कटौती गर्ने हो भने संघीयता धरापमा पर्न सक्नेतर्फ सचेत गराए ।
संघीय सरकारको कार्यशैलीलाई संकेत गर्दै अहिलेको देश पञ्चायतशैलीमा चलेको भन्दै स्थानीय सरकारलाई दिइएको २२ वटा अधिकारलाई पनि विभिन्न कारण देखाउँदै संघ र प्रदेश सरकारले नै प्रयोग गर्न नदिएकोप्रति उनले आक्रोश पोखे ।
उनले देशभरका ४५ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहेको र ५० भन्दा बढी नगरपालिकामा लेखा शाखाप्रमुख नरहेको संघीय सरकारलाई ध्यानाकर्षणसमेत गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले नगरपालिकाहरूको समग्र विकासमा संघ उपयुक्त माध्यम रहेको बताए । साथै, कोभिडको रोकथाममा नगरपालिकाहरूले गरेको काम सराहनीय रहेको उल्लेख गर्दै उनले सबै नगरपालिकाको प्रशंसा गरे ।
नेपाल नगरपालिका संघले औँल्याएकोे समस्या समाधान गर्न नेपाल सरकार जुनसुकै समय पनि तयार रहेको अर्थमन्त्री पौडेलले बताए ।
संघका निवर्तमान अध्यक्षसमेत रहेका बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘हामी अहिले संघीयताको कार्यान्वयनमै छौँ । अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’
स्थानीय सरकारले संघ र प्रदेश सरकारलाई आरोप-प्रत्यारोप गर्नुभन्दा पनि आफूले गर्नुपर्ने दायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री पौडेलले कोभिडको रोकथाममा पालिकाहरूले गरेको कामले नै स्थानीय सरकारको महत्त्व र आवश्यकता देखाइसकेको उल्लेख गरे ।
पौडेलले देशका सम्पूर्ण नगरपालिकाहरूलाई आफ्ना समस्या संघमार्फत आ-आफ्ना प्रदेश सरकार र संघीय सरकारमा लैजान आग्रह गरे ।
संघको अधिवेशनमा देशभरका नगर प्रतिनिधिका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको समेत सहभागिता थियो ।