काठमाडाैं- विश्वको सर्वोच्च शिखर हो सगरमाथा । सोलुखुम्बुको खम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने सगरमाथाको उचाइमा चीनले वखेडा झिकेपछि बनेको मापन समितिले आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्दैछ ।
नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रशारणमार्फत आज दिउँसो १ः ४५ बजे सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । नेपाली बिज्ञका अनुसार सगरमाथाको आठ हजार आठ सय ४८ मिटर उचाइ केही बढेको छ । तर कति वढेको छ भनेर आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन ।
नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन् । सन् २००५ देखि नेपाल र चीनबीच सगरमाथाको उचाइको विषयमा विवाद छ ।
मन्त्रिपरिषद्को गत १० मंसिरको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा तयार पारेको उचाइलाई अनुमोदन गर्ने निर्णय गरपछि सार्वजनिक गर्न लागिएको हो ।
गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।
सगरमाथाको अहिलेको उचाइ भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको थियो । पहिलो पटक सन् १८४७ मा सगरमाथाको उचाइ मापन गरिएको थियो ।