ताप्लेजुङ– मैवमाखोला गाउँपालिकाले तोकिएको पोशाक नलगाइ विद्यालय आउने शिक्षकको पोशाक भत्ता रोक्का गर्ने भएको छ ।
२१ मंसिरबाट पठनपाठन सुरु गर्न पालिकाभित्रका विद्यालयलाई निर्देशन दिएको गाउँपालिकाले तोकिएको पोशाक लगाउनु अनिवार्य भएको बताएको छ । पालिकाको शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले गाउँपालिकाले पोशाक लगाए÷नलगाएको बारे छड्के अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय भएको जानकारी दिए ।
जाडो मौसममा कोट बाहेक कालो ज्याकेट लगाउन सकिने गाउँपालिकाले जनाएको छ । सरकारले तोकेको शिक्षकको पोशाक भनेको पुरुषका लागि भुँइ हरियो भएको सेतो धर्काको सट र कालोमा सेतो धर्का भएको पाइन्ट । उनीहरुले नेपाली पोशाक दौरा, सुरुवाल, कोट र टोपीको पहिरन पनि लगाउन पाउने छन् ।
महिला शिक्षकले रानी कलरको कुर्था सुरुवालमा ढाका बोर्डर प्रिन्ट भएको पोशाक वा साडीचोलो लगाउन पाउने व्यवस्था छ । कोरोना कहरका कारण रोकिएका मैवाखोलाका विद्यालय अहिलेसम्म सञ्चालनमा आएका छैनन् । तर, २१ मंसिरबाट विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको छ ।
गाउँपालिकाले विद्यालय सञ्चालन गर्दा मास्क, स्यानिटाइजरलगायतका व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री भने उपलब्ध गराउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद तुम्बापोले भौतिक दुरी कायम गर्ने, प्राप्त स्वास्थ्य सामग्रीको प्रयोग गर्नेलगायतका जिम्मेवारी विद्यालयकै भएको बताए ।