close

काठमाडौं महानगर र रामग्राम नगरको भगिनी साइनो

काठमाडौं महानगर र रामग्राम नगरको भगिनी साइनो

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ ।


आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले यी नगरबीच भगिनी सम्बन्ध स्थापना भएको हो ।


भगवान गौतम बुद्धको अस्थी धातु रहेको प्राचीन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्वको काठमाडौं महानगरबीच दुई नगरका प्रमुखले शनिबार हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापनाको घोषणा गरेका हुन् ।

 
काठमाडौं महानगरप्रमुख विद्यासुन्दर शाक्य र रामग्राम नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले सहमतिपत्रमा हस्ताक्षर गरी दुई नगरबीच भगिनी सम्बन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे ।


कोलीय शान्ति उद्यान निर्माणका लागि महानगरको डेढ करोड


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)अन्तर्गतको रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेसँगै काठमाडौं महानगरले नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न ‘कोलीय शान्ति उद्यान’ निर्माणका लागि  एक करोड ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।


उक्त घोषणाको सम्झौतामा पनि दुवै नगरका प्रमुखले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार निर्माण भएको ऐतिहासिक तथा पर्यटकीय कोलीय शान्ति उद्यानको प्रवेशद्वारमा र अन्यत्र उपयुक्त स्थानमा ‘काठमाडौं महानगरपालिका र रामग्राम नगरपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत निर्मित उद्यान’ उल्लेख गर्नुपर्नेछ ।  


हस्ताक्षरपछि काठमाडौं महानगरप्रमुख शाक्यले बौद्ध दर्शका दृष्टिले काठमाडौं र रामग्रामबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताए ।


‘काठमाडौं पनि दक्षिण र उत्तर कोलीयग्राम रहेकाले यहाँको कोलीयग्रामबीचमा विगतमा केही सम्बन्ध हुन सक्छन्’, उनले भने, ‘ती सम्बन्धको हामी अध्ययन गर्ने चरणमा छौँ । दुई नगरबीच अहिले होइन, वर्षौं पुरानो सम्बन्ध हुन सक्छ । मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास र प्रचारप्रसारमा सहकार्य गर्नेछौँ ।’


नगरप्रमुख शाक्यले शिक्षा, स्वास्थ्य, सहकारी तथा स्थानीय रोजगारीका क्षेत्रमा हासिल गरेका उपलब्धि, सफल तथा असल अभ्यासबारे एकआपसमा अनुभव साटासाट गर्ने तथा सहकार्यमा नवीन सोच, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न/गराउन थप टेवा पुग्ने विश्वास लिएको बताए ।


रामग्रामका प्रमुख गुप्ताले विदेशी शहरसँग भन्दा आफ्नै देशका शहरसँगका सम्भावना र चुनौती दुवै मिल्दाजुल्दा हुने भएकाले विदेशी नगरसँगभन्दा देशभित्रकै नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने विचार व्यक्त गरे । उनले काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएकामा खुसी लागेको बताए ।


भगिनी सम्बन्ध स्थापित गर्नुअघि दुवै नगरका पदाधिकारीसहितको टोलीले रामग्रामको वडा- १८ गौतम बुद्धको मामाघर रहेको प्राचीन कोलीय गणराज्यको राजधानी पण्डितपुर, वडा- ७ मा रहेको रामग्राम स्तुप, त्रिवेणीधाम र गजेन्द्रमोक्ष धामलगायत स्मारक, धार्मिक र सांस्कृतिक स्थल भ्रमण अवलोकन गरेको थियो ।


रामग्राम नगरप्रमुख गुप्ताका अनुसार पण्डितपुरको उत्खनन गर्दा बुद्धकालीन भाँडाकुँडा, लोहोटालगायत घरायसी सामग्री भेटिएको र ती सामग्री लुम्बिनी संग्रहालयमा लगिएको जानकारी दिए । त्यसैगरी रामग्राम स्तुपमा रहेको बुद्धको अस्तु अहिलेसम्म ननिकालिएको अस्तु हो ।


‘गौतम बुद्धको मृत्युपछि अस्तुलाई आठ भागमा बाँडेर विभिन्न क्षेत्रमा राखिएको थियो । तीमध्ये सात ठाउँका अस्तु निकालेर अन्यत्र बाँडिएका छन् । तर, रामग्रामको अस्तु अहिलेसम्म निकालिएको छैन’, गुप्ताले भने ।


किंवदन्तीअनुसार अशोक सम्राटले अस्तु निकालेर अन्यत्र बाँड्न खोजेका थिए । तर, नाग र सेतो हात्तीले घेरेर राखेको देखेपछि उनले अस्तु निकाल्ने सोच त्यागिदिए । त्यसपछि अरू कसैले आँटै गरेनन् ।