भक्तपुर- कुनै बेला भक्तपुरका ढुंगे धारा स्थानीयका लागि खानेपानीका स्रोत थिए । नगरका अधिकांश स्थानीयले ढुंगे धाराकै पानी पिएर प्यास मेट्ने मात्रै होइन, दिनचर्यासमेत गर्न भ्याउँथे ।
तर, अहिले यहाँका अधिकांश ढुंगे धारामा पानी झर्न छाडेको छ । ढुंगे धाराबाट बग्ने चिसो पानी अहिले एकादेशको कथा बन्न थालेको छ । आजभोलि यहाँका स्थानीय प्यास मेट्न ट्यांकर या जारको पानीमा भर पर्न बाध्य छन् ।
भक्तपुर नगरभित्रका ढुंगे धारा पानीको स्रोतले मात्रै होइनन्, सांस्कृतिक तथा धार्मिक रुपले समेत महत्व बोकेका छन् । यहाँका प्रायः ढुंगे धारामा विभिन्न देवीदेवताका मूर्तिसमेत राखिएका छन् । कुनैमा शिव, कुनैमा पार्वती, कुनैमा गणेश इत्यादि । जुन देवीदेवतालाई हरेक व्यक्तिले पुज्ने गर्छन् ।
भगवान्का मूर्ति भएका ती ढुंगे धारामा आजभोलि पानी मात्रै होइन, हावासमेत आउन छाडे । स्थानीयले पानीबिनाका ढुंगे धारा हेरेर चित्त बुझाउनुपर्ने अवस्था आएको सुकुलढोकाका ७६ वर्षीय रत्नबहादुर मानन्धर सुनाउँछन् ।
नगरभित्रका हरेक टोलमा एक ढुंगे धारा भेटिन्छन् । तर केहीबाहेक अधिकांश धारा सुक्न थालेका छन् । भक्तपुर नगरका अनुसार नगरभित्र झन्डै ९० वटा ढुंगे धारा छन् ।
यहाँका धाराले पानीको प्यास मेट्ने मात्र होइन, साना नानीको रुन्चे भगाउन सक्ने विश्वास स्थानीयमा छ । सुकुलढोकाका ७६ वर्षीय रत्नबहादुर मानन्धरका अनुसार तः हिटिमा सबैर चराचुरुंगी नआउँदै सबैर रुन्चे लागेका नानीहरूलाई नुहाउन सके रुन्चे भगाउन सकिन्छ भन्ने विश्वास अहिले पनि छ ।
‘यो धाराको स्थापना कहिले भयो, मलाई थाहा छैन । एक वर्ष धाराबाट पानी आउन छाडेको थियो । जर्मनी र भक्तपुरका नागरिकको सहयोगमा धारा मर्मत भएपछि पानी आयो,’ उनले भने, ‘आजभोलि केही धारामा मात्रै पानी आउँछ । अधिकांश सुके ।’
नगरपालिकाले समय–समय धारा सफाइ कार्यक्रम ल्याए पनि पानी ल्याउन पहल नगरेको स्थानीय लक्ष्मीप्रसाद त्वायना बताउँछन् । ‘पाइप बिछ्याएर पानी ल्याउन नगरपालिकालाई आग्रह गरिएको पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
त्वायनाले भने, ‘जब नगरमा ठूला–ठूला घर ठडिए अनि ढुंगे धारा सुक्न थाले । धनीले त पानी विभिन्न माध्यमबाट ल्याउन सक्लान् तर हामी पानीका लागि ढुंगे धारामै भर पर्नुपर्ने बाध्यता छ । यतातर्फ नगरले केही सोच्न सके हुन्थ्यो ।’
नगरका ढुंगे धारा संरक्षणका लागि नगरबाट विभिन्न आयोजना सञ्चालन गरिँदै आएको भक्तपुर नगरपालिकाका सम्पदा तथा योजना शाखा प्रखुम राम गोविन्द श्रेष्ठ बताउँछन् । उनका अनुसार नगरपालिकाले समय–समयमा ढुंगे धाराको उत्खनन्, सरसफाइ तथा संरक्षणका कार्य गर्दै आएको छ ।
उनले भने, ‘२०७२ को भूकम्प गएयता नगरले सात वटा ढुंगे धाराको संरक्षण गरिसकेको छ भने केही संरक्षणको चरणमा छन् ।’
चाँगुनारायण नगरपालिकाको मुहानपोखरीको पानी डुढ माध्यम हँुदै नगरका ढुंगे धारामा आइपुग्छ । अब सोही माध्यमबाट धारामा पानी झार्ने लक्ष्य रहेको उनले जानकारी दिए ।