close

कोरोना संक्रमण नियन्त्रण गर्न वडास्तरीय समूह गठन गर्दै ललितपुर

कोरोना संक्रमण नियन्त्रण गर्न वडास्तरीय समूह गठन गर्दै ललितपुर

Trulli
ADVERTISEMENT

ललितपुर - ललितपुर महानगरले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रत्येक वडामा कोभिड सहजीकरण समूह गठन गर्ने भएको छ । महानगरमा २९ वडा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ललितपुर महानगर प्रतिनिधिबीच भएको बैठकपछि महानगरले कोभिड सहजीकरण समूह गठन गर्न लागेको हो । यो समूहले वडाको टोलटोलमै पुगेर घरैपिच्छे कोरोना संक्रमित भए-नभएको अनुगमन गर्नेछ । 


ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले समूह गठन राम्रो अवधारणा भएको बताउँदै सहजीकरण समूह गठन गर्न पत्राचार गरिने जानकारी दिए । कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएका र नदेखिएकाहरू स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई घरमै बसिरहेका छन् । यसले गर्दा कोरोना संक्रमणको फैलावट व्यापक भएको विज्ञहरूले बताएका छन् । 


स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ सिआइसिटी संयोजक महेन्द्र श्रेष्ठले कोरोना नियन्त्रणका लागि समूह गठन प्रभावकारी हुने बताए । उक्त समूहले टोलटोलमा पुगेर घरपिच्छे बिरामी भए-नभएको, कस्तो खालका बिरामी भएको एकिन गर्नेछ । समूहले संक्रमण दर घटाउन सहयोग गर्ने उनको दाबी छ ।


कोरोना नियन्त्रणका लागि सरकारले सञ्चालन गरेका गतिविधि र नियम मात्रै पर्याप्त नहुने बताउँदै उनले भने, ‘यो भाइरस संक्रमण नियन्त्रणका लागि व्यक्ति व्यक्तिको सतर्कता आवश्यक छ , त्यसो भए संक्रमण नियन्त्रण गर्न सकिन्छ ।’ टोलका मान्छेहरू जाग्नुपर्ने धारणा उनले राखे । कोरोना संक्रमणको संख्या बढे पनि मृत्युदर कम भएको उल्लेख गर्दै उनले यो समूह प्रभावकारी हुने स्पष्ट पारे । 


स्वास्थ्य मन्त्रालयका डा.अमृत पोखरेलले कोभिड सहजीकरण समूहको अवधारणाबारे बताउँदै एक समूहले धेरैमा ५० घरको निगरानी गर्नुपर्ने बताए । उक्त समूहमा महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमा समूह तथा गुठीका सदस्यहरू प्राथमिकताका साथ समावेश गर्नुपर्नेछ । 


डा. पोखरेलका अनुसार उक्त समूहले एकान्तबासमा बसे-नबसेको अनुगमन गर्ने, तिनको पहिचान गरी महानगरसँग समन्वय गर्नेलगायत विषयमा काम गर्नुपर्नेछ । कार्यक्रममा ललितपुर महानगरका कोभिड फोकल पर्सन देवी थापा गुरुङले कोरोना संक्रमण नियन्त्रणका लागि महानगरपालिकाले गरेको गतिविधिबारे जानकारी गराएकी थिइन् । बैठकमा ललितपुर महानगरका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो ।

 

त्यसैगरी महानगरको विधेयक समितिका संयोजक श्रीगोपाल महर्जन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक गणेश केसी, पूर्वाधार विकास समितिका संयोजक चन्द्रलाल महर्जन, आर्थिक समितिका संयोजक रवीन्द्र महर्जन, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, महानगरका प्रवक्ता राजु महर्जन सहभागी थिए ।