गोरखा– भूकम्पको इपिसेन्टरमा विवाद भएपछि गोरखाका दुई गाउँपालिकाबीच तनाव उब्जिएको छ । धार्चे गाउँपालिकाले इपिसेन्टर आफ्नो दाबी गर्दै साइकल र फुट ट्रेल निर्माण गरिदिएपछि बारपाक सुलिकोट रिसाएको छ ।
गाउँपालिकाले विज्ञप्ति नै निकालेर इपिसेन्टर तोडमोड नगर्न चेतावनी दिएको थियो । अहिले बारपाकीले धार्चे छिर्ने मुख्य सडक नै बन्द गरिदिएका छन् । उनीहरूले इपिसेन्टर, पर्यटन पदमार्ग, सामुदायिक वन क्षेत्रभित्र ढुंगामुढा उत्खनन गरेको विषयमा धार्चेले समन्वय गरेर समस्या सुल्झाउनुपर्ने बताएका छन् ।
‘धार्चे गाउँपालिकाले यी विषयमा समन्वय नगरेसम्म प्रवेश नाका अनिश्चितकालका लागि बन्द हुनेछ,’ प्रवेश नाकामा सूचना टाँसेर बारपाकीले चेतावनी दिएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट धार्चेले कुरै नबुझी आपूmलाई इपिसेन्टर घोषणा गरेको बताउँछन् । ‘पहिरो गयो भन्दैमा त्यसैलाई इपिसेन्टर भन्न मिल्दैन । केन्द्रबिन्दु बारपाक हो भन्ने सारा विश्वलाई थाहा छ’, उनले भने, ‘धार्चेले यो कुरा खारेज गर्नुप¥यो ।’
गत बुधबार गाउँले भेला भएर नाका बन्दको निर्णय गरेकाले बिहीबार बिहानैदेखि धार्चे प्रवेश नाका बन्द गरिएको हो । धार्चेका अध्यक्ष सन्तोष गुरुङले विकासको पूर्वाधार बनाउँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै छलफलबाट निकास खोज्न आग्रह गरे । गाउँपालिकाको नाका खोल्न शुक्रबार बैठक आयोजना गरिएको छ ।
‘इपिसेन्टर दाबी गरेको होइन । विकासको थालनी गरेको हो’, उनले भने, ‘इपिसेन्टर कहाँनेर भन्ने टुंगिएको छैन । त्यो धार्चेमा पनि पर्न सक्छ । तर, यसरी बाटै रोक्नु त भएन ।’
बाटो खुलाउन प्रशासनलाई भनिसकेको उनले सुनाए । इलाका प्रहरीलाई बाटो खोल्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय गोरखाले बताएको छ ।
केही समयअघि धार्चेले पर्यटक भित्र्याउन भन्दै इपिसेन्टर स्तम्भ स्थापना गरेको थियो भने ६२ किलोमिटरको पदमार्ग निर्माण गरेको छ । बारपाकले इपिसेन्टरलाई दुरुपयोग गरेको आरोप लगाएको छ ।
याे पनि पढ्नुहाेस्