कास्की - कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि पोखरा महानगरका वडा कार्यालयहरू धमाधम बन्द हुन थालेका छन् । वडा कार्यालय बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको छ ।
हाल १, २, १३ र २५ नम्बर कार्यालय पूर्ण रुपमा ठप्प छन् । संक्रमण बढ्ने खतरा देखेपछि सूचना टाँसेरै अनिश्चितकालका लागि सेवा बन्दको घोषणा गरिएको हो ।
यी वडाका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ‘कर्मचारीबाटै समुदायमा कोरोना फैलिने डर भयो’, वडा १ की अध्यक्ष शारदा पराजुलीले भनिन्, ‘केही समयका लागि कार्यालयको सेवा बन्द गरेका हौं ।’
वडाहरूले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन् । पोखराको २७ वडा पनि कर्मचारीमै कोरोना देखिएपछि बन्द थियो । अहिले यहाँको सेवा सुरु भएको छ ।
पोखरा महानगरले समेत २९ असोजदेखि १३ कात्तिकसम्म पूर्ण सेवा बन्द गरेको थियो । महानगरका ३० भन्दा बढी कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । अहिले पोखरामा कोरोना संक्रणको दर ह्वात्तै बढेको छ ।
संक्रमितको तीव्र वृद्धिले महानगर लकडाउन गर्न सुझाइएको छ । तर, अहिले नै बन्द गर्ने निर्णय नभएको नगरप्रमुख मानबहादुर जिसीले जानकारी दिए ।