तनहुँ- जनप्रतिनिधिले महामारीका बेला पनि भत्ता लिएको भन्दै सामाजिक सञ्जालदेखि, चिया पसल, चोक र चौतारीमा गफिनेहरूको बहस अझै रोकिएको छैन ।
निर्वाचनमा मत दिएर जिताएकाहरू नै द्रव्यलाभमा फसेको भन्दै जनताबाट आलोचना हुन थालेपछि संघ र प्रदेशका जनप्रतिनिधिले लिएको दसैं भत्ता धमाधम फिर्ता गरिरहेका छन् ।
तनहुँमा पनि स्थानीय तहका जनप्रतिनिधिले दसैं भत्ता फिर्ता गरेका छन् । उनीहरूले भत्ता फिर्ता गरेर आ–आफ्नो स्थानीय तहले स्थापना गरेको कोरोना कोषमा जम्मा गरेका हुन् ।
जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखसँगै स्थानीय तहका प्रमुख र उपप्रमुखले भत्ता फिर्ता गरेका छन् । तनहुँमा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र ६ स्थानीय तहमा प्रमुख तथा उपप्रमुख कांग्रेसबाट निर्वाचित हुन् ।
जिल्ला समन्वय समिति तनहुँका प्रमख शान्तिरमण वाग्ले र उपप्रमुख पवित्रा पौडेलले दसैं भत्ता व्यास नगरपालिकाको कोरोना कोषमा जम्मा गरेका छन् ।
दसैं भत्तामा वाग्लेले लिएको ३२ हजार र पौडेलले २८ हजार रुपैयाँ व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गरी कोरोना कोषमा जम्मा गरेका हुन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीले पनि ३०/३० हजार रुपैयाँ फिर्ता गरे ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, भानु नगरप्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु थापाले पनि दसैं भत्ता फिर्ता गरिदिएका छन् ।
यस्तै, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ र देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापाले दसैं भत्ताबापतको रकम आ–आफ्ना पालिकाको कोरोना कोषमा जम्मा गरेको जनाएका छन् ।
नगरपालिका प्रमुख र उपप्रमुखले ३० हजार रुपैयाँ तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले २५ हजार रुपैयाँ दसैं भत्तामा बुझेका थिए । कोरोना महामारीका बेला दसैंमा भत्ता लिनु उचित नभएकाले फिर्ता गरिएको शुक्लागण्डकी नगरप्रमुख किसान गुरुङले बताउँछन् ।
‘कोरोना नियन्त्रण र व्यवस्थापनामा हामीले फिर्ता गरेको रकमले थोरै भए पनि नागरिकको स्वास्थ्य सेवामा सहयोग पुग्नेछ’, गुरुङले भने, ‘जनप्रतिनिधि सदैव जनताको हितमा समर्पित हुनुपर्छ ।’
नेकपाका जनप्रतिनिधिले पनि फिर्ता गरे दसैं भत्ता
तनहुँमा दसैं भत्ता फिर्ता गर्ने सबै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार भई शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख निर्वाचित सविता रसाइलीले पनि आफूले पाएको दसैं भत्ता फिर्ता गरेकी छन् ।
उनले प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई आफूले पाएको नगद ३० हजार रुपैयाँ हस्तान्तरण गर्दै कोरोना कोषमा जम्मा गरेको बताइन् । विपद्का बेला जनताले आलोचना गर्ने गरी भत्ता लिन आवश्यक नरहेको उनको भनाइ छ ।