सुर्खेत– घर होस या अफिस, दिउँसो होस् या राति साथमा सधैभर चलिरहन्छ भने त्यो हो फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल । बच्चदेखि जेष्ठ नागरिकसम्ममा मात्र होइन कर्मचारीमा समेत यसको लत लागेपछि एउटा नगरपालिकाले भने कार्यालय परिसरमा फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जाल चलाउनै प्रतिबन्ध लगाइदिएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले कर्मचारीको कार्यक्षमतामा ह्रास आएको भन्दै कार्यालयमा सामाजिक सञ्जाल चलाउन बन्देज गरेको हो ।
नगरपालिकाले सूचना नै जारी गरेर कार्यालय हाताभित्र कुनै पनि कर्मचारीले सामाजिक सञ्जाल चलाउन नपाउने नियम बनाएको नगर उपप्रमुख मुक्तिदेवी रेग्मीले पालिका खबरलाई जानकारी दिइन् । उनका अनुसार कर्मचारी सामाजिक सञ्जालमा व्यस्त भएपछि यस्तो नियम बनाउनु परेको हो ।
शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, म्यासेन्जर, टिकटक चलाउन पाउने छैनन् ।
सामाजिक सञ्जालमा कर्मचारी व्यस्त हुँदा सेवाग्राहीको काममा असर परेको जनगुनासो आएपछि यो निर्णय गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बुढाले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेलगत्तै कर्णालीमा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने बताएका थिए । त कार्यान्वयन भने गरेनन् । हाल यसको सुरुवात भने नगरपालिकाले गरिदिएको छ ।