close

श्रीगोपाल कला सिरपाः श्री करूणामयलाई प्रदान

श्रीगोपाल कला सिरपाः श्री करूणामयलाई प्रदान

Trulli
ADVERTISEMENT

भक्तपुर– प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको श्रीगोपाल कला सिरपाः यस वर्ष भोजपुरको टक्सारस्थित श्री करूणामय गणेश दाफा भजन सङ्घलाई प्रदान गरिएको छ । 

 

थिमि कला परिषद्ले शनिबार आयोजना गरेको श्रीगोपाल कला सिरपाः एवं दाफा भजन खलःलाई सम्मान कार्यक्रममा परिषद्ले  २५ हजार एक नगदसहित नाट्येश्वरी मूर्तिमा सुनको जलप लगाएको तीन तोला चाँदीको मेडल र ताम्रपत्रसहित सिरपाः प्रदान गरिएको हो । 

 

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सङ्घलाई सिरपाः तथा थिमिका विभिन्न दाफा भजन खलःलाई समेत सम्मान गरे । सम्मानित हुनेमा थिमिका गुंग चिभाः दाफा भजन खलः, पाचो गणेश दाफा भजन खलः, केकी इनाय दाफा भजन खलः, सिवाः साय्मी दाफा भजन खलः, सिघिकाली छत्र गुठी दाफा भजन खलः, झ्वापुननी दाफा भजन खलः, न्हुछे दाफा भजन खलः, बद्रीनाथ धोँ श्रेष्ठ भादेवी दाफा भजन खलः, सिद्धिकाली कोसिइनाय दाफा भजन खलः, सिद्धि गणेश दाफा भजन खलः रहेका छन् । 

 

त्यस्तै दाफा भजनमध्येकै कुष्णमान बाकय् श्रेष्ठ, पाँचो गणेश दाफा भजन खलः बोडेका बुद्धिकुमार सिपाईँ, नीलवर्ण दाफा भजन खलः बोडेका चन्द्रलाल नागीचा श्रेष्ठ र काठमाडौंँका वरिष्ठ गीतकार नारायणकुमार आचार्य पनि सम्मनित भएका छन् । 

 

सो अवसरमा नगरप्रमुख श्रेष्ठले मध्यपुरथिमिको मूर्त तथा अमूर्त कला, संस्कृति, जात्रा, पर्वको संरक्षणमा आफू खटिएको बताउँदै मन्दिर, पाटी, कुवा, ढुङ्गेधारा र पार्कले नयाँ स्वरुप पाएको बताए । ‘विगत १७ वर्षमा हुन नसकेको काम मैले पाँच वर्षमा गरेर देखाएँ, शङ्खधर उद्यानदेखि कुमारी उद्यानसम्मको सम्पदाको संरक्षण, लोप भइसकेका जात्रा पर्वलाई पुनः सञ्चालन गर्ने काम गरेँ,’ उनले भने, ‘नगरपालिकाले पाँच हजार दिँदै आएको बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रालाई म आएपछि रु तीन लाख दिन थालेँ, नील बाराही जात्रालाई  पाँच लाख, महाकाली नाचलाई  पाँच लाख दिन थालेँ । यहाँका नागचा प्याँखदेखि अधिकांश नाचहरको संरक्षणमा जुटेको छु, थिमिको लोप हुन लागेको मूर्त–अमूर्त कला, संस्कृतिको संरक्षण गर्न सफल भएको छु ।’

 

नगरप्रमुख श्रेष्ठले नगरपालिकामा जात्रा, पर्व र कला संस्कृतिको संरक्षणका लागि आफूले  ५० लाखको अक्षयकोष स्थापना गर्न र जात्रा पर्वमा लाग्ने कलाकार, बाद्यवादकलगायत प्रतक्ष्य जोडिएकालाई पारिश्रमिक दिने गरी व्यवस्था गर्न प्रस्ताव गर्दा नगरपालिकाको कार्यपालिकाले पारित नगर्दा त्यस काममा सफल हुन नसकेको बताए ।

 

उनले सिरपाःका दाता गणेशराम प्रजापतिले प्रत्येक दुई/दुई वर्षमा एकपटक उपत्यकाभित्र र एकपटक उपत्यका बाहिरको कला, संस्कृति, वाद्यवादन, परम्परागत नाचगान क्षेत्रमा विशेष योगदान पुर्‍याउने सामाजिक सङ्घसंस्था र व्यक्तिलाई प्रदान गरिँदै आएको जानकारी दिए । 

 

मध्यपुरथिमि–७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, गुठी संस्थानका प्रमुख प्रशासक किरण शाक्य, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका सदस्यसचिव श्याम तमोट, परिषद्का सचिव ज्ञानराम श्रेष्ठलगायतले कला, संस्कृतिको संरक्षणमा थिमिले पुर्‍याएको योगदानको चर्चा गरे । थिमि कला परिषद्का अध्यक्ष श्रीगोपाल प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक नाचको प्रदर्शन गरिएको थियो ।