काभ्रे–काभ्रेको नमोबुद्ध नगरपालिकामा महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत महिला अधिकार रक्षाका लागि कविता प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा सहभागी वडा नम्बर ६ को मंगलादेवी आमा समूहबाट कोरिएको कविता :
महिला हिंसा किन हुन्छ ?
भन्नुस् हजुर महिलामाथि हिंसा किन हुन्छ ?
हाम्रो पनि मनै त हो पीडा हुँदा रुन्छ
हिंसा सधैँ महिलालाई नै अलग–अलग नाम
चुलोचौको छाडी बाहिर गर्नुहुन्न काम
तिनै नारी हो नि सरकार बलात्कृत बन्नुपर्ने
कति मरे कहिलेसम्म हरेक वर्ष गन्नुपर्ने
दाइजो कम भो भनी भनी जलाइन्छ तिनै नारी
मृत्युदण्ड दिनुस् तिनलाई नजोगाउनुस् बलात्कारी
छोरी भनी हाम्रो यहाँ गर्भैदेखि मारिन्छन्
प्राकृतिक नियम हो नि नछुनेमा पारिदिन्छन्
छोरी हाँसी नारीभर ठूलो हाँसो हाँसेकी रे
आफ्ना लागि बोलेदेखि भन्छन् पोथी बासेकी रे
कहिलेसम्म हुन्छ सरकार महिलामाथि अत्याचार ?
हत्या, हिंसा रोक, विरोध नारीमाथि बलात्कार
भन्नुस् हजुर महिलामाथि हिंसा किन हुन्छ ?
हाम्रो पनि मनै त हो पीडा हुँदा रुन्छ
शान्ति घोरासैनी न्यौपाने
नमोबुद्ध नगरपालिका, काभ्रे