खोटाङ–१८औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस अवसर पारेर अन्तरस्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी खोटाङको सहकार्यमा १८औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस अवसर पारेर महिला स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने र लोकदोहोरीमार्फत स्वास्थ्य सन्देशमूलक जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख दीपनारायण रिजालले नगरपालिकालाई स्वास्थ्यमैत्री नगर बनाउन स्वयंसेविकाको उल्लेखिय भूमिका रहेको बताए । उनले भने, ‘स्वास्थ्य स्वयंसेविकालाई सरकारले प्रदान गर्ने सेवा–सुविधा न्यून भएकाले उनीहरूलाई प्रोत्साहन गर्दै १ हजार रुपैयाँ सेवा–सुविधा नगरले व्यवस्थापन गरेर कार्यान्वयनमा ल्याएको छ ।’
अन्तरस्वास्थ्य दोहोरी लोकगीत प्रतियोगितामा खाल्ले स्वास्थ्य चौकी प्रथम, स्वास्थ्य चौकी विजयखर्क दोस्रो, वडा स्वास्थ्य केन्द्र बुवालुङ र स्वास्थ्य नगर शाखा दिक्तेल तृतीय भए । प्रथम हुनेलाई २ हजार, द्वितीयलाई १ हजार ५ सय र तृतीय हुनेलाई १ हजार रुपैयाँका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै, अवकाश प्राप्त वडा नम्बर १३ नुनथलाकी स्वयंसेविका कुमारी राईलाई सम्मान गरिएको छ ।
सरकारी तथ्यांकअनुसार हाल नेपालभर ५२ हजार महिला स्वयंसेविका कार्यरत छन् । स्वयंसेविकाले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षालगायतका काम गर्दै आएका छन् ।
कार्यक्रममा नगर उपप्रमुख वीणादेवी राई, नेपाल रेडक्रस सोसाइटी खोटाङ सभापति, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए । दीक्षिका श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले स्वागत गरेका थिए ।