close

हस्तकला व्यापार मेलाको तयारी पूरा

हस्तकला व्यापार मेलाको तयारी पूरा

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । ३ देखि ५ मंसिरसम्म काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलाको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । मेलामा विभिन्न हस्तकलाकाका १२० भन्दा बढी स्टल रहनेछन् । विगतका मेलामा हस्तकलाबाहेकका पनि स्टल रहने गरेकामा यस पटक हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले बताए । 


मेलाको मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुको प्रदर्शनी रहेका छन् । परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी), समसामयिक प्राकृतिक रेशा (नेचुरल फाइबर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी गरिनेछ ।


विभिन्न विधामा संलग्न ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिने कार्यक्रम रहेको मेला संयोजक शाक्यले बताए । शाक्यका अनुसार मेला उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ । मेला अवलोकनका लागि विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्च पदस्थ अधिकारीलाई आमन्त्रण गरिएको छ ।


मेलामार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने अपेक्षा गरिएको छ । मेला आयोजनाले नयाँ उद्यमी पहिचान, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधीकरणमा प्रोत्साहन मिल्ने अपेक्षा आयोजकको छ ।


हस्तकला क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदान–प्रदान हुने, स्वदेशमै रोजगारी अभिवृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने विश्वास लिइएको छ । झन्डै १ लाखले अवलोकन गर्ने मेलामा प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी ३–५ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ ।