काठमाडौं- अभिनेता पल शाह र मोडल रञ्जित सिञ्जाली मगर अभिनीत ‘व्याकुली’ गीतको भिडियो सार्वजनिक भएको छ । एमएमएस इन्टरटेन्मेन्टले गीतको भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा पल शाह र उषा उप्रेती, रञ्जित सिंजाली मगर र सुप्रिया खनाललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।
रोमान्टिक शैलीको गीतमा गायिका मेलिना राई, एलिना चौहान, अजय कार्की र अविनाश थापा मगरको स्वर रहेको छ । गीतमा सिर्जना खत्री र शिवको र्यापसमेत सुन्न सकिन्छ ।
गायकसमेत रहेका अजय कार्कीले गीतको शब्द लेखन, संगीत र संगीत संयोजन आफैं गरेका हुन् । ए-वन म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको ‘व्याकुली’ को ध्वनि सम्पादन भने किशोर थापा मगरले गरेका हुन् ।
राजीव समरले आफ्नाे नृत्य निर्देशनमा पल, उषा, रञ्जित र सुप्रियालाई गज्जबले नचाएका छन् । रामकुमार केसीको छायांकन र निर्देशनसमेत रहेको यो गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
सार्वजनिक भएको ४ दिन पूरा हुँदै गर्दा युट्युबमा गीतको भिडियो १ लाख ५० हजार बढीले हेरिसकेका छन् । गीत र भिडियोलाई लिएर उत्साहजनक प्रतिक्रिया आएको मोडल रञ्जितले जानकारी दिए ।