झापा- साहित्यकार चित्रा पौड्याल कोइरालाले २ वटा कृतिको विमोचन गरेर जन्मदिन मनाएकी छिन् । झापा अर्जुनधारा वडा नम्बर ८ घर भई हाल अमेरिका बस्दै आएकी कोइरालाले नेपाल आएर लकडाउनको समय सदुपयोग गर्दै तयार गरेका दुइटा कृति मुक्तकसंग्रह शंखनाद र कवितासंग्रह श्वेत शिखर जन्म दिने आमाबुबाको हातबाट विमोचन गरेर जन्मदिन मनाएकी हुन् ।
लोकनाथ-हेमकला पौड्याल ट्रस्ट अर्जुनधारा वडा नम्बर ८ झापाको आयोजनामा भएको कार्यक्रममा साहित्यकार चित्रा पौड्याल कोइरालाका बुबा शिक्षासेवी लोकनाथ पौड्याल र आमा हेमकला पौड्यालले मुक्तकसंग्रह शंखनाद र कवित संग्रह श्वेत शिखरको विमोचन गरे ।
जन्म दिने आमाबुबा दिवंगत भएपछि पुस्तक समर्पण गर्ने परम्परालाई तोड्दै आमाबुबाकै हातबाट दुइटा कृतिको विमोचन गरेर उनीहरूप्रति समर्पित गरेको उनले बताइन् ।
सानै उमेरदेखि आमाबुबाको हातबाट कृति विमोचन गराउने धोको भएको र त्यो अहिले आएर पूरा भएको उनको भनाइ छ ।
२ वटा कृतिको बिक्रीबाट संकलित रकम झापाको अर्जुनधारा वडा नम्बर ६ कप्तानबारीस्थित अपांग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपांगता भएका बालबालिकाको सहयोगार्थ प्रदान गरिने उनले जानकारी दिइन् ।
८ वर्षदेखि अपांग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपांगता भएका बालबालिकालाई सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाइन् ।
साहित्यकार कोइराला साहित्य चौतारी बिर्तामोड झापाकी कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी आजीवन सदस्य, जीवन विज्ञानकी प्रशिक्षकसमेत हुन् ।