काठमाडाैँ- डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवं स्काउट लिडर राजीव खत्रीको 'स्कार्फ' नामक नियात्रासंग्रह विमोचन गरिएको छ । युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँघरे, लायन्स क्लबका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरू डा. रवीन्द्रप्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिकलगायतको उपस्थितिमा विमोचन गरिएको हो ।
युवा तथा खेलकुदमन्त्री तामाङले खेलकुद र युवा उत्थानका लागि आफ्नो प्रयास सुरु हुने बताए । उनले राजनीतिक संकटका बेला आफूले जिम्मेवारी पाएको बताउँदै खेलकुद र युवाका लागि विशेष कार्यक्रम ल्याउन आफू सक्रिय बन्ने उल्लेख गरे । उनले स्काउटमा देखिएका समस्या समाधान गर्दैै नेपाल स्काउटको विकासमा योगदान पुर्याउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले स्काउटले मानवलाई नै अनुशासनमा राख्ने उल्लेख गरे । खत्रीको पुस्तकमा स्काउटसँगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जीवन्त पढ्न सकिने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको हुँदा यस कृतिले नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटेको हुनाले अन्तर्राष्ट्रियस्तरमा यो विशेष कृतिका रूपमा जान सक्ने विचार राखे ।
कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचारप्रसारमा यस कृतिले अहं भूमिका खेल्ने धारण व्यक्त गरे । स्काउट लिडर रवीन्द्रप्रसाद पाण्डेले स्काउटिङभित्रको तथ्यपरक चिरफार गरेको भन्दै स्काउटिङको क्षेत्रमा यो कृति कोशेढुंगा सावित हुने विश्वस व्यक्त गरे ।
अर्का स्काउट लिडर अनन्तप्रसाद भेटुवालले स्काउटिङ इतिहासकै संकटको मोडमा पुगेको बताए । उनले गलत नेतृत्वका कारण स्काउटमा राजनीति हावी भएको भन्दै चिन्ता व्यक्त गरे । तीनकुनेस्थित भीएस निकेतन स्कुलमा आयोजित कार्यक्रमका वक्ताहरूले स्काउटिङ प्राविधिक कुरा भएकाले यस विषयमा बुझ्न यो पुस्तक महत्त्वपूर्ण हुने बताएका थिए ।
१४ वटा निबन्ध संगृहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो । यस कृतिबाहेक लेखकका प्रशस्त फुटकर रचना प्रकाशन भइरहेका छन् ।