डोटी - जोरायल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष जगतबहादुर मल्ल आफ्नो कार्यकालप्रति खासै सन्तुष्ट छैनन् । विभिन्न प्रतिबद्धतासहित नेकपा एमालेबाट चुनावमा होमिएका उनी जनताको माग र समस्याको सम्बोधन गर्न नपाउँदा दुःखी छन् । वडावासीको जीवनयापन तथा कृषि क्षेत्रको सुधारको लागि आफू लागिपर्दा पनि आवश्यक बजेटको अभावले सोचेअनुरूप काम हुन नसकेको उनी बताउँछन् । तर पनि आफू सधैँ जनताको साथमा रहेको उनी सुनाउँछन् । उनै वडाध्यक्षसँग पालिका खबरकी संवाददाता पार्वती साउदले गरेको कुराकानीमा आधारित सम्पादित अंश :
तपाई निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि आफूले सम्पादन गरेको कामका आधारमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
निर्वाचित भएको एक डेढ वर्षमात्रै भएकोले कामका आधारमा सन्तुष्ट छैन । चुनावको समयमा जनतासामु राखिएका प्रतिबद्धता अनुरूप काम भइरहेको छ । वडाभित्रका सबै टोलका सडक विस्तार, बिजुली बत्ती, खानेपानी, सिँचाइलगायतका कामहरूमा गर्दै आएका छौँ । काम सम्पन्न भएका छैनन् । त्यसैले पनि सन्तुष्ट छैन ।
तपाईले कृषकका लागि के कस्ता कार्यक्रमलाई प्राथमिकता दिनुभएको छ ?
पहाडी ठाउँ भएकाले कतिपय ठाउँमा खेत बाँझो छ । सिँचाइको अभाव छ । उन्नत बीउ कृषक सामु पुग्न सकेको छैन । परम्परागत शैलीमा खेतीपाती हुँदै आएको छ । कृषिमा आधुनिकीकरणका साथै कृषकको स-साना मागलाईसमेत पुरा गर्न सकिएको छैन । साबिक गाउँ विकास समितिको ९ वटामध्ये ३ वटा वडामा तरकारीको उत्पादन राम्रो छ । बाँकी ६ वटा वडाको उत्पादन राम्रो छैन । धान फल्ने खेतहरू बाँझै छन् जसले गर्दा कृषिमा सोचेभन्दा राम्रो काम हुन सकेको छैन ।
किसानको जीवनस्तर उकास्नका लागि कस्ता कार्यक्रम अगाडि सार्नुभएको छ ?
किसानको जीवनस्तर उकास्नका लागि फलफूल खेती र बाख्रा पालन छ । हाम्रो एरियामा पकेट क्षेत्र भएकोले कृषिमा पनि तरकारी खेतीमा बढी जोड दिएका छौँ ।
स्थानीय सरकारले कृषिका लागि बजेट छुट्टाएको छ होला ?
कृषिका लागि बजेट छुट्टाएको छैन । स्थानीय समस्या र गुनासो लिएर प्रदेश सरकारसामु जाँदा हाम्रो योजनालाई बेवास्ता गर्नुहुन्छ । सबै राजनीतिक दलबाट जितेका जनप्रतिनिधिहरूको सर्वदलीय बैठकमा स्थानीयको मागहरू उठाउँछौ तर हाम्रा माग सुनुवाइ नै हुँदैन । कृषिका लागि के-के सामाग्री चाहिन्छ ? सिँचाईका लागि कहाँ के आवश्यकता पर्छ यो सबै तोकेको हुन्छ तर तोकेको काम एउटा पनि भएको हुँदैन । प्रदेश सरकारले आफ्ना नातागोता र आफ्नो मान्छेलाई हेर्छ । मेरो वडामा मात्रै कुरा गर्ने हो भने ६, ७ वटा लिफ्टिङ सिस्टम छ । यसले लगातार ३ वर्षदेखि काम गरिरहेको छ । सिचाई ट्याङ्की खोला खोलामा बनाउने र आफ्ना मान्छेलाई दिने काम मात्रै भइरहेको छ । अरू उपलब्धि केही भएको छैन ।
उत्पादनका लागि कुन - कुन क्षेत्रमा के के उत्पादनका गर्नुभएको छ ?
राष्ट्रिय तथा गैर राष्ट्रिय संस्थाले कृषि क्षेत्रमा उत्पादनका लागि कार्यक्रम ल्याएका छन् । वडाको गोगनपानी, गोल्डन, गैह्रालगायतका ठाउँहरूमा तरकारीमा टमाटर, बन्दा उत्पादन भइराखेको छन् । केही नभए पनि एउटा किसानले एक वर्षमा एक डेढ लाखसम्मको उत्पादन गरेर बिक्री गर्न सक्छन् । उत्पादन भएका तरकारीहरू बजारीकरण गर्न भने समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी २० रुपैयाँमा बिचौलियाहरूले किन्छन् भने तराइका किसानले ८० रुपैयाँमा लिन्छ बिचौलियाले बिचमा ६० रुपैयाँ खाने गरेको देखियो । यो समस्याको लागि कृषि विज्ञान केन्द्रबाट पनि हाकिम आएका बेला हामीले बिचौलियाको समस्या, कृषि एम्बुलेन्सको आवश्यकता, कृषि औजारलगायतको माग पनि राखेका छौ हेरौँ कत्तिको समस्या समाधान हुन्छ ।
सहुलियत र अनुदानबाहेक के-के कार्यक्रमहरू अगाडि सार्नुभएको छ ?
कृषिका लागि थोपा सिँचाई बनाइदिने, पोली हाउसको व्यवस्था गरिदिने किसानका माग अनुसार हाम्रो तर्फबाट सम्भव भएका कार्यहरू पुरा गरेका छौँ ।
कृषि बजारीकरणका लागि के-के गर्नुभएको छ ?
कृषि बजारीकरणका लागि विभिन्न ठाउँमा कलेक्सन सेन्टर राखेका छौँ । गैरामा, गोगन पानीमा, घोडरीमा, गोल्डन बजारमा गरी ४,५ ठाउँमा कलेक्सन सेन्टर राखेको छौँ । कलेक्सन सेन्टरवालाले पनि ५ रुपैयाँ लिएर पठाउने गरेको छ । धनगढीको बजारसम्म पुर्याउने यातायातको साधन छैन जसले गर्दा किसानले उचित मूल्य पाएका छैनन् ।
र, अन्त्यमा पालिकाको कृषि कार्यक्रमबाट किसानहरू कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
सन्तुष्टि हुने कुरै भएन सबैलाई समेट्न सकेको छैन पालिकाले पनि गत वर्षको भन्दा यो वर्षमा १ करोड २५ लाख कम बजेट गरेको छ । फेरी पचास लाख जति थप गरेको भन्ने छ । बजेट कटौती हुँदै गएको छ । प्रदेश सरकार, सङ्घ सरकारले आफ्नै ढङ्गले आफ्ना मान्छेलाई दिने गरेको छ । त्यसैले कृषि कार्यक्रमबाट किसान त्यति सन्तुष्टि छैनन् ।