बैतडी– मेलौली नगरपालिका–८ का वडाध्यक्ष तपेन्द्र सिंह विष्ट घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन आफैं खट्छन् । भौगोलिक रूपमा विकट नगरपालिका भएको हुँदा सबै वृद्धवृद्धालाई बैंक जानुस् भन्ने सम्भव नभएको विष्ट बताउँछन् । विष्ट सम्भवत: नेपालकै कान्छो वडाध्यक्ष हुन् ।
पालिकाखबरसँगको संवादमा उनले आफ्ना वडावासीको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर जनताकै सेवामा दिनरात खटिरहेको बताए । वडाले हालसम्म गरेका निर्णय र वडाध्यक्षको सक्रियताबाट स्थानीय सन्तुष्ट रहेका उनको दाबी छ । निर्वाचनको समयमा आफूले स्थानीयसमक्ष गरेको केही प्रतिबद्धता पूरा गरिसकेको र केही प्रक्रियामा रहेको उनले पालिकाखबरलाई बताए ।
शैक्षिक सुधार, सडक विस्तार, खानेपानीको समस्या समाधानलगायत जनताका मागहरू पूरा गर्दै आएको उनले बताए । 'मेरो बाँकी कार्यकालसम्ममा जनताका माग सम्बोधनमै बित्नेछ,' उनले भने, 'जनताको अधिकांश समस्याको समाधान गर्नेछु । प्रतिबद्धअनुसारको काम गरिरहेकै छु ।'
उनका अनुसार वडा नम्बर ८ का सबै सामुदायिक विद्यालय तथा बालविकास केन्द्रमा रहेका शिशु कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको र वृद्धवृद्धालाई थर्मस वितरण गरेको सुनाए ।
‘शिशु कक्षाका विद्यार्थीलाई एलसिडी राइटिङ ट्याब्लेट र कक्षा एकका विद्यार्थीलाई पुनः प्रयोग गर्न सकिने म्याजिक कापीहरू वितरण गरेको थिए,’ उनले भने, ‘सामुदायिक विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरेको थिए ।’
भौगोलिक विकटताले आफ्नो वडाभित्र विभिन्न समस्या रहेको उनले सुनाए । ‘वडामा खानेपानी, सडक विस्तार, विद्युत्, स्वास्थ्य शिक्षालगायतमा समस्या छन्,’ उनले भने, ‘बनेका सडक पनि पहिरोले अवरुद्ध गरेका छन् । समयमा सञ्चालन गर्न नसक्दा जनता मारमा परेका छन् ।’ वडाभित्र विभिन्न समस्या भए पनि समाधान गर्दै अघि बढ्ने उनले बताए ।
पहिलो वर्ष केही अनुभवको कमी र काम गर्दै जाँदा केही स्थानीय वडाध्यक्षको कार्यशैलीबाट असन्तुष्ट भएको थाहा पाएपछि आफूले कार्यशैलीमै सुधार ल्याएको दाबी गरे । ‘गत वर्ष जनतासँग मप्रति वितृष्ण, निराश, आक्रोस देखिन्थ्यो । तर यो वर्षमा त्यस्तो छैन, मसँग खुसी नै हुनुहुन्छ,’ उनले भने ।
जनताले दिएको सुझावलाई मार्ग निर्देशनको रूपमा लिँदै आएको उनको भनाइ छ । वडाको सार्वजनिक सुनवाइ तथा अन्य छलफलमा आफूलाई वडावासीले सुझाव र सल्लाह दिने उनले बताए । उनले भने, ‘सार्वजनिक सुनुवाइमा जनताले सुझाव दिनुभयो । सोही सुझाव नै मेरो लागि मार्ग निर्देशक भयो ।’