close

वडा सचिवप्रति असन्तुष्टि जनाउँदै वडाकाे सेवा नगरपालिकाबाट

वडा सचिवप्रति असन्तुष्टि जनाउँदै वडाकाे सेवा नगरपालिकाबाट

Trulli
ADVERTISEMENT

महोत्तरी । बिर्तामोड नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईले नगर कार्यपालिकाको भवनबाट सेवा दिन थालेकाे छ । वडा अध्यक्ष प्रसाईले वडा सचिव बिमल पोखरेलको कामप्रति असुन्तुष्टि जनाउँदै नगर कार्यपालिकाबाट वडा कार्यालयको सेवा सञ्चालन गरेको हो । 

वडा अध्यक्ष प्रसाईकाअनुसार वडा सचिव पोखरेलले कार्यालय समयभन्दा कम काम गर्दै आएका छन् । मर्यादित तरिकाले काम नगरेको र साेले वडा कार्यालयका सेवाग्राहीले समस्या पाएको उनको आरोप छ । 

'हाम्रो पालिकामा गत भदौदेखि इ-हाजिरीको व्यवस्था गरेको छ । सो व्यवस्था भएसँगै कार्यालय आउने र जाने समयमा हाजिरी गराउनु पर्ने नियम छ,' उनले भने, 'तर इ-हाजिरीको व्यवस्था भएदेखि वडा सचिव ढिला कार्यालय आउनुहुन्छ र चाँडै जानुहुन्छ ।' वडा सचिवले कुनै पनि दिन पूर्ण रुपमा काम नगरेकाे आराेप  वडा अध्यक्ष  प्रसाईकाे छ ।

उनले वडा सचिवको कार्यशैलीप्रति स्थानीय जनताको पटक/पटक गुनासो आएको र सोही बमोजिम अनुरोध गरेपनि कुनै सुनुवाई नभएको बताए । उनले थपे, 'वडा सचिवको कारणले सेवा प्रवाहमा समस्या आएको छ । यसको समाधानको लागि नगर  कार्यपालिका भवनबाट सेवा सञ्चालन गरेको हुँ ।' 

उनले वडा कार्यालयको छाप, बेन्च, कुर्सी तथा आवश्यक सामग्री कार्यपालिका भवनमै ल्याएर सेवा दिएको पालिकाखबरलाई बताए । उनले वडा सचिवलाई हटाएर नयाँ कर्मचारी ल्याउन र निजले लिएको पारिश्रमिक फिर्ता गर्न समेत नगरपालिकासँग माग गरेको छन्। 

'उहाँले दैनिक २ देखि ५ घण्टासम्म काम गर्नु भएको रकर्ड छ । तर दैनिक कम्तीमा ८ घण्टा काम गर्नु पर्ने नियम छ । सोही कार्य समयको आधारमा उहाँलाई पारिश्रमिक दिन र बाँकी रकम फिर्ता गर्न नगरपालिकासँग माग गरेको छु,' उनले भने, 'तर मेराे मागकाे सुनुवाई भएकाे छैन । हाल नगरपालिकाले पनि सो माग पुरा गर्ने जनाएकाे छ । सो माग पुरा नभएसम्म म यही बसेर सेवा सञ्चालन गर्ने छु ।' 

उनले कर्मचारीलाई मर्यादित र इमान्दारितासँग काम गराउनका लागि सो कार्य गरेको बताए । 'कर्मचारीको मनपरीतन्त्र हटाउन यसरी सेवा दिएको हुँ । यसको सुरुवात हाम्रो नगरपालिकाबाट भएको छ,' उनले भने । 

आफूलाई स्थानीय बासिन्दाले पनि सहयाेग गर्दै आएकाे उनले बताए । उनले भने, 'एक वर्षसम्म त स्थानीयले समस्या भाेग्नु पर्याे । अब बाँकी कार्यकालमा यस्ताे समस्या भाेग्नुपर्ने छैन । साेही समस्या अन्त्यकाे लागि यसरी सेवा दिएकाे हुँ ।'

वडा सचिवको कार्यशैलीको विरोध र नगरपालिकासँग कर्मचारीलाई कारबाही गर्न माग राख्दै वडा अध्यक्षले बिहान साढे १० बजेदेखि नगर कार्यपालिका भवनबाट सेवा विस्तार गरेको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । उनले वडा अध्यक्षको मागको सुनुवाई नभएको बताए । 

यस विषयमा कुरा गर्नको लागि वडा सचिव पोखरेलसँग सम्पर्क गर्न पटक/पटक टेलिफोन गरे पनि फोन उठेन ।