close

उदाहरणीय वडाध्यक्ष : जनताको सेवा गर्दा व्यावसायिक खेति रोकिएन

उदाहरणीय वडाध्यक्ष : जनताको सेवा गर्दा व्यावसायिक खेति रोकिएन

Trulli
ADVERTISEMENT

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर ६ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेको कमी छैन । 

यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुनुहुन्छ काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि उनले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेवारी पाएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका वडाध्यक्षलामिछानेले अहिले भने त्यही बाँझिन थालेको बारीबाट लाखौँ कमाइ गर्न थालेका छन् । 

काठेखोला गाउँपालिका–७ रेशमा रहेको उनको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । ‘चार/पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ’, उनले भने, ‘वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैपर्‍यो ।’

उहाँका बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो २५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उनकी श्रीमती कमला लामिछानेले बताइन् । ‘बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर विचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने’, कमलाले भनिन्, ‘हामी आफैँले उपभोक्तालाई दिँदा उहाँहरूले रोजेर लैजान पाउनुभएको छ, मूल्य पनि सस्तो पर्छ ।’ 

यस वर्ष मात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उनले बताइन् । बहुवर्षे बाली भएकाले बेला बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उनको भनाइ छ । त्यहीँ बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभवसमेत उनीसँग छ । 

प्रेमलेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।