close

दैलेखको दुल्लूका जनप्रतिनिधि भक्तपुरमा

दैलेखको दुल्लूका जनप्रतिनिधि भक्तपुरमा

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कर्णाली प्रदेशको दैलेख जिल्ला दुल्लू नगरपालिकाका जनप्रतिनिधि टोलीले भेट गरेका छन् ।  भेटमा उनीहरूबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका पालिकाले गर्दै आएका कामबारे अनुभव आदानप्रदान गरेका थिए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूको सञ्चालन र उद्देश्यबारे जानकारी दिए । उनले भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषामा उच्च शिक्षा हासिल गर्न पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई भक्तपुर नपाले पूर्ण छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिँदै आइरहेको बताए ।

भेटमा दुल्लु नपा वडा नं. ८ का वडाध्यक्ष सुशिलकुमार भण्डारीले बाइसे चौबिसे राज्यकालमा दुल्लु राज्यको राजधानीको रुपमा चर्चित दुल्लु नपा ६ वटा गाविसलाई समायोजन गरी दुल्लू नगरपालिका बनेको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको नगरपालिका भएको बताए ।

दुल्लू नपाको आन्तरिक आम्दानी निकै कम रहेको र त्यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरू संरक्षण चुनौतीपूर्ण रहे पनि भक्तपुरको अवलोकनबाट धेरै कुरा सिकिने र सहज हुने बताए ।